नेपाली कांग्रेसको १५औं महाधिवेशन: बाराबाट १४ जना मैदानमा, पूर्वमन्त्रीदेखि युवासम्मको प्रतिस्पर्धा

सिमराः नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि काठमाडौंको खुला मञ्चमा निर्वाचन सुरु हुँदैछ । यस महाधिवेशनमा बारा जिल्लाबाट विभिन्न पद र क्लस्टरमा गरी कुल १४ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
बाराबाट उम्मेदवारी दिनेहरूमा पूर्वमन्त्री, पूर्वसंविधानसभा सदस्यदेखि युवा नेताहरूसम्म रहेका छन् । समावेशी उपसभापति पदमा पूर्वमन्त्री फरमुल्लाह मंसुरले उम्मेदवारी दिएका छन् । त्यसैगरी खुल्ला केन्द्रीय सदस्य पदका लागि पूर्वसंविधानसभा सदस्य शोभाकर पराजुली र युवा नेता नवराज त्रिपाठी मैदानमा उत्रिएका छन् ।
आदिवासी जनजाति महिला क्लस्टरबाट शोभा लामा तथा मधेशी केन्द्रीय सदस्यमा कृष्ण वर्त सिंह र रविन्द्र पनुहरले प्रतिस्पर्धा गर्दैछन् । मधेशी महिलातर्फ तारादेवी कानु र मधेश प्रदेश महिला कोटामा मेघा शाहीको उम्मेदवारी परेको छ । मधेश प्रदेश खुल्लातर्फ शम्भु बुढाथोकी र हरि थपलिया मैदानमा छन् ।
यसपटक नेतृत्वमा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ । युवा कोटा (३५ वर्षमुनि) तर्फ युवा महिलामा ममता शर्मा र युवा खुल्लामा राजीव चौधरीले मनोनयन दर्ता गराएका छन् । यसका साथै पेशागत समूहबाट नेपाल प्रेस युनियनका सभापति शिव लम्साल र खस आर्य महिला क्लस्टरबाट नारायणी रायमाझीले उम्मेदवारी दिएका छन् ।







