बारामा भारतीय मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु

सिमराः बारामा भारतीय मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहार राज्यअन्तर्गत महुआवा थाना, महुआवा पञ्चायत ६ का अन्दाजी २५ वर्षीय विक्रम शर्मा रहेका छन् ।
बाराको सुवर्ण गाउँपालिका-३ स्थित सन्तगन्ज पुलनजिकै शनिबार साँझ सडकको छेउबाट पैदल हिँडिरहेका शर्मालाई भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिएलगत्तै चालक मोटरसाइकलसहित फरार भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका शर्माको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको बताएका छन् । उनका अनुसार दुर्घटनामा संलग्न फरार भारतीय नम्बर प्लेटको मोटरसाइकल र चालकको खोजी कार्य तीव्र पारिएको छ ।





