विद्यार्थीलाई स्वदेशमै भविष्य देखाउन खोज्दै एकता स्कुलः सिमरामै पहिलो पटक ‘क्यारियर प्रिपरेसन ल्याबोरेटरी’

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित एकता स्कुल सिमराले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै एक नवीन एवम् आधुनिक शैक्षिक पूर्वाधारको रूपमा ‘क्यारियर प्रिपरेसन ल्याबोरेटरी’ अर्थात ‘करियर प्रयोगशाला’ सुरु गर्ने तयारी गरेको छ ।विद्यार्थीहरूलाई नेपाल राष्ट्र बैंक लगायत मुलुकका प्रतिष्ठित वित्तीय संस्थाहरू, निजामती सेवा र आधुनिक उद्यमशीलतामा सक्षम प्रतिस्पर्धी बनाउन प्रयोगशाला सुरु गर्न लागिएको हो ।
शैक्षिक हबका रुपमा विकसित हुँदै गरेको सिमरा क्षेत्रमा सम्भवतः यो पहिलो अभ्यास हो जसले माध्यमिक तहका विद्यार्थीहरूलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी प्रत्यक्ष पेशागत दक्षता हासिल गराउनेतर्फ दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ । विशेष गरी माध्यमिक शिक्षा उत्तीर्ण गरेपछि विद्यार्थीहरूमा रहने भविष्यको अन्योलता हटाउन र आफ्नै देशमा असीमित अवसरहरू छन् भन्ने आत्मविश्वास बढाउन यो अवधारणा ल्याइएको विद्यालयको भनाइ छ ।
सामान्यतया विद्यालय स्तरको पढाइ सकिएपछि मात्र लोकसेवा तथा विभिन्न बैंकिङ परीक्षाको तयारी गर्ने परिपाटी रहेको सन्दर्भमा एकता स्कुलले विद्यालय तहबाटै विद्यार्थीहरूलाई सोही अनुसारको शैक्षिक वातावरण उपलब्ध गराउन लागेको हो । यस प्रयासले बैंकिङ र व्यवस्थापन विषयमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि ठोस जग बसाल्न ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ ।
करियर प्रयोगशालालाई प्रविधिमैत्री र व्यावहारिक अध्ययनको केन्द्र बनाउने गरी तयारी गरिँदैछ । प्रयोगशालाभित्र विद्यार्थीहरूका लागि आवश्यक पाठ्यक्रम, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विशेषज्ञ पुस्तकहरू, सन्दर्भ सामग्रीहरू र विभिन्न केस स्टडीका वास्तविक डेटाहरू उपलब्ध गराइनेछ । यसका साथै लोकसेवा तथा विभिन्न संस्थानहरूका पुराना प्रश्नपत्रहरूको संग्रह तयार पारिनेछ । जसले गर्दा विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक परीक्षाको ढाँचा बुझ्न सहज हुनेछ । प्रयोगशालाभित्रै विद्यार्थीहरूबीच नियमित छलफल तथा विचार विमर्शका लागि ‘डिस्कसन ग्रुप’ समेत गठन गरिनेछ । जहाँ विद्यार्थीहरूले समसामयिक आर्थिक, कानुनी र सामाजिक विषयहरूमा आपसमा छलफल र बहस गर्न सक्नेछन् ।
प्रविधिको उच्चतम प्रयोग गर्दै प्रयोगशालामा स्मार्ट बोर्डहरू जडान गरिने छ । स्मार्ट बोर्डको माध्यमबाट अध्ययनसँगै विभिन्न क्षेत्रका विज्ञहरूसँग प्रत्यक्ष जोडिएर उनीहरूको राय, सल्लाह र मार्गदर्शन लिइने योजना छ । विज्ञहरूले अनलाइन तथा भौतिक रूपमा दिएका मार्गदर्शनलाई आत्मसात् गर्दै विद्यार्थीहरूले मेहनत गर्ने र आफ्नो तयारीलाई परिपक्व बनाएर सफलता हासिल गर्ने वातावरण निर्माण गर्नु नै यस प्रयोगशालाको प्रमुख लक्ष्य रहेको स्कुलका सञ्चालक अध्यक्ष दिवस न्यौपानेले इशिलालेखलाई बताए ।
विद्यालयले गर्न लागेको नयाँ प्रयासबारे जानकारी दिँदै न्यौपानेले भने ‘स्थानीयस्तरमै गुणस्तरीय र प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्न यो प्रयोगशालाको अवधारणा अघि सारिएको हो । प्रतिभावान विद्यार्थीहरू उच्च शिक्षा वा लोकसेवा तयारीका नाममा सुरुवातमै ठूला सहरहरूमा भौतारिनु पर्ने बाध्यताको अन्त्य गर्न यो करियर प्रयोगशालाले कोशेढुङ्गाको काम गर्नेछ ।’ स्वदेशभित्रै सरकारी तथा निजी क्षेत्रमा प्रसस्त सम्भावनाहरू रहेको र ती अवसरहरूलाई पहिल्याउन योग्य जनशक्ति तयार पार्नु नै प्रयोगशालाको मूल मर्म भएको उनको भनाइ छ ।

यसैगरी प्रिन्सिपल मदन रिजालले प्रविधियुक्त र जीवनोपयोगी शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै करियर प्रयोगशालाले विद्यार्थीहरूको सोच र अध्ययन शैलीमा परिवर्तन ल्याउने दाबी गरे । ‘करियर प्रयोगशालाले विद्यार्थीहरूको सोच र अध्ययन शैलीमा ठूलो परिवर्तन ल्याउनेछ । विद्यार्थीहरूलाई केवल परीक्षामा अङ्क ल्याउने परिपाटीबाट माथि उठाएर व्यावहारिक जीवनमा सफल हुन सक्ने नागरिक बनाउनेछ’ रिजालले भने ‘सिमरामै पहिलो पटक सुरु हुन लागेको यो प्रयासले समग्र मधेस प्रदेशकै शिक्षा क्षेत्रमा नयाँ तरङ्ग पैदा गर्ने अपेक्षा हामीले गरेका छौं ।’

विद्यार्थीहरूलाई अब्बल बनाउन करियर प्रयोगशाला तयार गरिरहेको विद्यालयले आफ्नो शैक्षिक दायरालाई अझ फराकिलो बनाउने योजना पनि अघि सारेको छ । व्यवस्थापनसँगै न्याय र कानुनको क्षेत्रमा सफल भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा कानुन विषयको पठनपाठन समेत सुरु गर्ने तयारी विद्यालयले गरिसकेको छ । कानुन विषयको अध्ययनले कानुनी साक्षरता बढाउनुका साथै न्याय सम्पादन र कानुनी सेवामा भविष्य खोज्ने युवाहरूका लागि गाउँमै अवसर सिर्जना गर्नेछ ।







