कोल्हबीमा प्रथम नगर लिग फूटबल प्रतियोगिता हुने

सिमराः बाराको कोल्हवीमा सोमबारदेखि प्रथम नगर लिग फूटबल प्रतियोगिता सुरु हुँदैछ । कोल्हवी नगरपालिका- १ स्थित मठवा फिल्डमा हुने उक्त प्रतियोगिताको उद्घाटन दिउँसो २ बजेपछि हुनेछ ।
नगर खेलकुद विकास समिति कोल्हवीको आयोजनामा हुन लागेको प्रतियोगितामा ९ वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा ज्ञानु फाउण्डेशन, बन्ठा युवा क्लब, सहारा युवा क्लब, फ्रेण्ड्स क्लब, प्रगतिशील युवा क्लब, गहुमी युवा क्लब, जनशक्ति युवा क्लब, मठवा युवा क्लब र गोपाल प्रगतिशील युवा क्लबले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ४० हजार र उपविजेताले २० हजार नगद प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीलाई समेत नगद १० हजारसहित पुरस्कृत गरिने नगर खेलकुद विकास समितिका संयोजक शिव चौधरीले जानकारी दिए ।
उनले नगरपालिकाभित्र ओझेलमा परेका प्रतिभाहरूको पहिचान गरी उनीहरूलाई खेल क्षेत्रमा अगाडि बढाउने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । प्रतियोगिता आयोजना गर्न झण्डै १० लाख खर्च हुने अनुमान गरिएको छ ।







