सिरहामा ९० किलो लागूऔषध गाँजासहित एक जना पक्राउ


eShilalekh

२७ आश्विन २०८३, मंगलवार १२:५६

सिरहाः सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका- ५ कल्याणपुरबाट प्रहरीले ९० किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४३ वर्षीय जगदिश यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी महेशवारीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमवार राति ११ बजे गाँजाको खरिद बिक्री भइरहेको सूचनाका आधारमा यादवको घरमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा सेतो बोराभित्र प्लास्टिकले बेरेर राखिएको अवस्थामा ९० किलो गाँजा फेला परेपछि यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालले जानकारी दिएका छन् ।

बरामद गाँजा र पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्