वीरगन्ज सीमाबाट ब्राउन सुगर र गाँजासहित बाराका दुई जना पक्राउ

वीरगन्जः पर्साको वीरगन्ज महानगरपालिका-१६ स्थित मितेरी पुल नजिकैबाट सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको डग स्क्वाड र बोर्डर इन्टरएक्सन टिम (बीआईटी) को संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका र नेपालबाट भारततर्फ जाँदै गरेका दुई जनालाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका अनुसार भारतबाट नेपाल आउँदै गरेका बाराको विश्रामपुर गाउँपालिका-५ नर्कटवाका १८ वर्षीय शेख सहजातलाई शंकास्पद अवस्थामा जाँच गर्दा कुरकुरेको प्याकेटभित्र कालो प्लास्टिकमा लुकाएर ल्याएको चार ग्राम आठ सय ४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
यसैगरी नेपालबाट भारततर्फ पैदल जाँदै गरेका बाराको बारागढी गाउँपालिका- ३ का ४१ वर्षीय जमिल अख्तर मियाँलाई शंकाका आधारमा जाँच गर्दा उनको झोलाबाट चार किलो ८५ ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको छ ।
पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले जनाएको छ ।







