कर्णाली याक्सको रोमाञ्चक जित, जनकपुर बोल्ट्स निराश

सिमराः नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार साँझ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध रोमाञ्चक जित हात पारेको छ । कर्णालीले १९ रनको जित निकाल्दै पहिलो संस्करणको विजेता जनकपुरलाई पहिलो खेलमै निराश बनाएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३२ रन बनाएको थियो । कर्णालीका लागि ओपनिङमा आएका अरिफुल इस्लामले सर्वाधिक ४३ रनको योगदान दिए भने पवन सर्राफले ३७, दीपक डुम्रेले १३ र गुलशन झाले १२ रन बनाए । बलिङतर्फ जनकपुरका हरमित सिंहले तीन, राहुल यादव र मोइन अलिले समान दुई तथा ललित राजवंशीले एक विकेट लिए ।
एक सय ३३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा मैदान उत्रिएको जनकपुर बोल्ट्स १९.३ ओभरमा सबै विकेट गुमाएर एक सय १३ रनमै समेटियो । जनकपुरका लागि ओपनिङमा आएका तृतराज दास एक रनमा आउट हुँदा अर्का ओपनर मयन यादवले १४ रन जोडे । यसैगरी मोइन अलिले १९, अनिलकुमार साहले ११, जेम्स निशामले १५ र हरमित सिंहले १९ रन बनाए ।
आठौं नम्बरमा क्रिज सम्हाल्न आएका अभिषेक तिवारीले २० रन जोड्दै टिमको जितको आशा जगाएका थिए । तर १९औं ओभरमा हुसेन तलतको बलमा आउट भएपछि जनकपुरको जित्ने आशा समाप्त भएको थियो ।
जनकपुरलाई सस्तैमा समेट्ने क्रममा कर्णालीका प्लेयर अफ दि म्याच युनिश ठकुरी र हुसेन तलतले समान तीन-तीन विकेट हात पारे । यसैगरी नन्दन यादवले दुई र कप्तान सोमपाल कामीले एक विकेट लिए ।







