नक्कली नम्बर प्लेट राखेर तस्करी गर्न लागिएको काठ बरामद, चालक पक्राउ

सिमराः बाराको कोल्हबीस्थित मधुवनको वन क्षेत्रबाट तस्करी गर्न लागिएको काठको गोलियासहित एउटा गाडी र एक चालक पक्राउ परेका छन् । मधुवनको १६ किलो भन्ने जङ्गल क्षेत्रबाट वन कर्मचारीको टोलीले ८६.७ क्युफिट काठको गोलियासहित चालकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहटका २९ वर्षीय चालक जलन्धर महतो रहेका छन् । सव डिभिजन वन कार्यालय कोल्हबीका कर्मचारीले गाडी नियन्त्रणमा लिने क्रममा केही व्यक्ति भने फरार भएका छन् । फरार व्यक्तिको खोजी थालिएको छ ।
यता पक्राउ परेका महतोले आफूले चलाएको गाडीमा नक्कली नम्बर प्लेट प्रयोग गरेर काठ तस्करी गर्न लागेको खुलेको छ । वन कर्मचारीले बा १ च ८९११ नम्बरको जिपबाट काठ नियन्त्रणमा लिएको भए पनि उक्त गाडीको वास्तविक नम्बर ना १ च ८९११ भएको वन कार्यालयको भनाइ छ ।
पक्राउ परेका चालकमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय बाराका प्रमुख सुजितकुमार झाले जानकारी दिएका छन् ।





