जनकपुर बोल्ट्सले भित्रायो दुई बंगलादेशी खेलाडी, पाकिस्तानका इफ्तिखार र हुनेन स्वदेश फर्किने

सिमराः पाकिस्तानी खेलाडी फर्किने भएपछि जनकपुर बोल्ट्सले बंगलादेशका दुई नयाँ खेलाडीलाई भित्राएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आगामी खेलका लागि जनकपुरले सैफ हसन र परभेज हुसेन इमोनलाई अनुबन्ध गरेको हो ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बाट आवश्यक अनुमति नपाएपछि इफ्तिखार अहमद र हुनेन शाह स्वदेश फर्किने भएका छन् । दुई महत्वपूर्ण खेलाडी फर्किने भएपछि जनकपुरले तत्कालै बंगलादेशी विकल्प रोजेको हो ।
जनकपुरम अनुबन्धित २७ वर्षीय सैफ हसन दायाँहाते ब्याटरका साथै उपयोगी अफ-स्पिनर हुन् । सन् २०२० मा पाकिस्तानविरुद्ध टेस्ट डेब्यू गरेका उनले बंगलादेशका लागि तीनै प्रारूपमा खेलिसकेका छन् । ३१ टी-२० अन्तर्राष्ट्रियमा ६२९ रन र १५ एकदिवसीयमा ३६९ रन बनाएका सैफ घरेलु प्रथम श्रेणी क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने कान्छा बंगलादेशी खेलाडीसमेत हुन् । ब्याटिङको माथिल्लो क्रममा इनिङ्स सम्हाल्न सक्ने उनको क्षमता जनकपुरका लागि महत्वपूर्ण मानिएको छ ।
त्यस्तै अर्का खेलाडी २४ वर्षीय बायाँहाते ब्याटर परभेज हुसेन इमोन आफ्नो आक्रामक ब्याटिङका लागि परिचित छन् । सन् २०२० को यू-१९ विश्वकप विजेता टोलीका सदस्य उनले सन् २०२५ मा युएईविरुद्ध टी-२० अन्तर्राष्ट्रियमा मात्र ४२ बलमा शतक बनाएका थिए । ४० टी-२० अन्तर्राष्ट्रिय खेलमा ७३३ रन बनाएका र पीएसएलमा लाहोर कलन्दर्सबाट खेलिसकेका इमोनलाई जनकपुरले शीर्ष क्रममा विस्फोटक सुरुवातका लागि उपयोग गर्नेछ ।
पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स तेस्रो संस्करणको आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । जनकपुरले आज (बिहीबार) दिउँसो १२ः३० बजे काठमाडौं गुर्खाजसँग दोस्रो खेल खेल्नेछ ।





