नव जनजागृति युवा क्लबको विजयी सुरुवात


Author

eShilalekh

June 2, 2022 9:05 pm

सिमराः नव जनजागृति युवा क्लबले चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्रतियोगिताको विहिवार भएको उद्घाटन खेलमा सर्लाहीलाई स्तब्ध पार्दै जनजागृतिले विजयी सुरुवात गरेको हो ।

हेटौडास्थित पिप्ले रंगशालामा भएको खेलमा जनजागृतिले वाग्मती युवा क्लबलाई २–० ले पराजित गरेको हो । जनजागृतिको जितमा विवेक चौधरी र कृपाकान्त चौधरीले एक–एक गोल गरे ।

खेलको आठौं मिनेटमा विवेकको गोलबाट खेलमा अग्रता लिएको जनजागृतिले अन्तिम समयमा अग्रता दोब्बर पार्दै पहिलो जित दर्ता गरेको हो । जनजागृतिका विवेक चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार हात पारे ।

जितसंगै जनजागृति प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । १२ टिमको सहभागीता रहेको प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ ।

तस्विरः गोलनेपाल

प्रतिक्रिया दिनुहोस्