अन्तर विद्यालय क्रिकेटः पाथीभरा र सिमरा पब्लिकले उचाल्यो उपाधि


eShilalekh

२१ कार्तिक २०८३, शनिबार १८:३४

सिमराः सिमरा–डुमरवाना अन्तरविद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत छात्रातर्फको उपाधि पाथीभरा इङ्लिस बोर्डिङ स्कुल र छात्रतर्फको उपाधि सिमरा पब्लिक इङ्लिस स्कुलले उचालेको छ । पाथीभराले अक्षरा पाठशाला र सिमरा पब्लिकले लोटस एकेडेमीलाई पराजित गर्दै उपाधि उचालेको हो ।

सिमरास्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न पहिलो फाइनल खेलमा पाथीभराले अक्षरा पाठशालामाथि १९ रनको जित निकालेको थियो । टस जितेर पहिले ब्याटिङ रोजेको पाथीभराले निर्धारित १२ ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको थियो ।

९७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको अक्षराले १२ ओभरमा ८ विकेट गुमाएर ७७ रन मात्रै बनाउन सक्यो । खेलको प्यलेयर अफ दि म्याच पाथीभराकी एन्जल पराजुली घोषित भइन् ।

यसैगरी छात्रतर्फको फाइनल खेलमा सिमरा पब्लिकले लोटसलाई ८ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको लोटसले निर्धारित १२.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर ७३ रन जोडेको थियो ।

७४ रनको लक्ष्य पछ्याएको सिमरा पब्लिकले ५.५ ओभरमा दुई विकेटको क्षतिमा जित हात पार्यो । सिमरा पब्लिकको जितमा आर्यान यादवले २० बलमा ३४ र कुन्दन यादवले ४ बलमा २० रन बनाए । उक्त खेलको प्लेयर अफ दि म्याच सिमरा पब्लिकका आशिषकुमार मण्डल घोषित भए । उनले पाँच विकेट लिएका थिए ।

पाथीभराकी एन्जल पराजुली छात्रातर्फ र सिमरा पब्लिकका कुन्दन यादव छात्रतर्फको प्लेयर अफ दि सिरिज घोषित भए । छात्रतर्फ १३ विकेट लिएका आशिष मण्डल र छात्रातर्फ १२ विकेट लिएकी अपेक्षा खड्का सर्वाधिक विकेट लिने खेलाडी बने । यसैगरी छात्रतर्फ एक सय ८२ रन बनाएका परवेज अंसारी र छात्रातर्फ ९१ रन बनाएकी आर्या विक सर्वाधिक रन बनाउने खेलाडी घोषित भएका छन् ।

प्रतियोगिताको विजेता, उपविजेता र विधागततर्फका उत्कृष्ट खेलाडीलाई मधेस प्रदेश क्रिकेट संघका चिफ सेलेक्टर विकास दलीलगायतले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण समारोहमा प्रतियोगिताको प्राविधिक व्यवस्थापक सिमरा क्रिकेट क्लबका अध्यक्ष पंकज शर्मा, सिमरा पब्लिक स्कुलका प्रिन्सिपल बसन्त ढकाल, अक्षरा पाठशालाका प्रिन्सिपल नरेन्द्र तामाङ, एकता स्कुलका मदन रिजाल, लोटस एकेडेमीका सुवास अधिकारी, राष्ट्रिय विभूति सामुदायिक शिक्षक सदनका प्रिन्सिपल सागर ठाडामगर, पाथिभरा स्कुलका प्रिन्सिपल लक्की रिमाल, स्नो एपेक्सका निर्देशक रामबहादुर चौधरी, बारा जिल्ला क्रिकेट संघका प्रशिक्षक कुमार थापा, समीर नेपाल, पूर्व खेलाडी माधव सुवेदीलगायत सहभागी थिए ।

सिमरा पब्लिक स्कुल र अक्षरा पाठशालाले संयुक्तरुपमा प्रतियोगिताको आयोजना गरेका हुन् । सिमरा पब्लिकले छात्र र अक्षरा पाठशालाले छात्रातर्फको प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा जीतपुरसिमरा भित्रका १२ निजी विद्यालय सहभागी थिए । समापन समारोहको सहजीकरण शिक्षक शालिकराम अधिकारीले गरेका थिए ।

फाइनल समारोहको अन्य तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्