जीतपुरसिमरा-१८ काँटाटोलबाट तास खेल्दै गरेका आठ जना ७६ हजार नगदसहित प्रहरीको नियन्त्रणमा

सिमरा: प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१८ काँटाटोलबाट तास खेल्दै गरेका आठ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा रहेको टोलीले ७६ हजार तीन सय ९० रुपैयाँसहित आठ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा जीतपुरसिमरा-१७ का ३१ वर्षीय उपेन्द्रप्रसाद साह, ६१ वर्षीय मिनबहादुर थिङ, ३६ वर्षीय कुमार थिङ, ३७ वर्षीय जिम्बु चौधरी, ४९ वर्षीय सितलाल तामाङ, ३० वर्षीय वाङ तामाङ, कलैया उपमहानगरपालिका-२१ का ५५ वर्षीय देवचन्द्रप्रसाद चौधरी र ३१ वर्षीय रमेश साह रहेका छन् ।
उनीहरुलाई स्थानीय गोरी माया तामाङको बाख्रा गोठमा तास खेलीरहेको अवस्थामा पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिएका छन् । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।





