श्रीकृष्ण प्रणामी धर्म अन्तर्राष्ट्रिय महोत्सव’ को सुरक्षा र व्यवस्थापनबारे स्थानीय सरकार र प्रशासनसँग छलफल

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहस्थित नवनिर्मित श्रीकृष्ण मन्दिर उद्घाटन तथा श्रीकृष्ण प्रणामी धर्म अन्तर्राष्ट्रिय महोत्सवलाई व्यवस्थित रूपमा सम्पन्न गर्न आइतबार आयोजक, स्थानीय सरकार र सुरक्षा निकायबीच छलफल भएको छ । मंसिर १० देखि १६ गतेसम्म सञ्चालन हुने महोत्सवको सुरक्षा र व्यवस्थापनलाई प्रभावकारी बनाउन छलफल भएको हो ।
छलफलमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खडानन्द अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सरोज निरौला, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्ट, वडाध्यक्ष भोजबहादुर खत्री, धनबहादुर श्रेष्ठ, स्थानीय त्रिलोक बिक्रम शाहलगायत उपस्थित थिए ।
महोत्सव अवधिभर यातायात व्यवस्थापन, सवारी साधन पार्किङ, शान्ति सुरक्षा, भक्तजन तथा श्रद्धालुहरूको सहज आवागमन र भीड व्यवस्थापनका विषयमा छलफल भएको थियो । आयोजक समितिले महोत्सवलाई सभ्य र सफल बनाउन स्थानीय सरकार, प्रशासन, सुरक्षा निकायको भूमिका अहम हुने बताएको छ ।
यसअघि शनिबार मन्दिर परिसरमै पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले महोत्सवको तयारी र उद्देश्यबारे जानकारी गराएको थियो । करिब ६ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको विशाल मन्दिरलाई ‘बाबाजी लक्ष्मीधाम’ का रूपमा स्थापना गर्न लागिएको हो । महोत्सव मूल समारोह समितिका संयोजक जनार्दनजी शास्त्रीका अनुसार मंसिर १० गते बिहान भव्य कलश यात्रा निकालिनेछ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलको उपस्थितिमा नवनिर्मित मन्दिरको उद्घाटन गरिने कार्यक्रम तय भएको छ ।
महोत्सव अवधिभर श्रीमत्तारतम सागरको १२५ पारायण वाचन, चौरासी पूजा, व्रतबन्धलगायतका विभिन्न धार्मिक अनुष्ठानहरू हुनेछन् । कार्यक्रममा धर्मगुरुहरू आचार्य श्रीकृष्णमणिजी महाराजश्री र सूर्यनारायणदासजी महाराजश्रीले आशिर्वचन प्रदान गर्नेछन् भने भारतस्थित श्री १०८ नवतनपुरी धाम, श्री १०८ महामंगलपुरी धाम र श्री १०८ पद्मावतीपुरी धामका महन्त, साधुसन्त, पण्डित तथा विदुषीहरूको विशेष उपस्थिति रहनेछ ।
मूल समारोह समितिका महासचिव दीपकप्रसाद भट्टका अनुसार देशभरबाट दैनिक करिब १५ हजार भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ । दैनिक करिब तीन हजार भक्तजनका लागि स्थानीय विद्यालय, मन्दिर, सहकारी संस्थाका सभाहल तथा स्थानीय भक्तालुहरूका निजी आवासमा निःशुल्क बसोबासको प्रबन्ध मिलाइएको भट्टले जानकारी दिए ।
करिब डेढ करोड रुपैयाँ खर्च र पाँच करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको यस महोत्सवबाट बचत हुने रकमले मन्दिर वरपरको जग्गा खरिद गरी ‘बाबाजी लक्ष्मीधाम’ मा गुरुकुल सञ्चालन गर्ने लक्ष्य आयोजकले राखेको छ ।





