उपभोक्ता र कर्मचारीलाई सिमरा खानेपानीको सम्मान


eShilalekh

१३ मंसिर २०८३, आईतवार ०९:१४

सिमराः सिमरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आफ्नो २४औं वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट उपभोक्ता, कर्मचारी तथा पूर्वकर्मचारीहरूलाई सम्मान गरेको छ । जीतपुरसिमरा–१ स्थित समितिको कार्यालयमा आयोजित साधारणसभामा संस्थाको विकास र सेवा प्रवाहमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।

समितिका अनुसार नियमित शुल्क तिर्ने, सरसफाइमा ध्यान दिने, ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गतालगायतका क्षेत्रलाई समेट्दै सात जना उपभोक्तालाई सम्मान गरिएको छ । सम्मानित हुने उपभोक्ताहरूमा धनप्रसाद बजगाईं, रमेश सिम्खडा, खड्ककुमार अधिकारी, महादेवी भुत्तेल, देवीभक्त लम्साल, पदमा माया बस्नेतनी र ओमबहादुर विक रहेका छन् ।

सोही अवसरमा संस्थाले कर्मचारीहरू फेकन चौधरी, राजेन्द्र ढकाल र कृष्ण खत्रीलाई पाँच हजार एक सय रुपैयाँ नगदसहित सम्मान गरेको छ । यसैगरी पूर्वकर्मचारी झलक नारायण श्रेष्ठ र विष्णुबहादुर कार्कीलाई १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । साधारणसभामा सिमरा खानेपानीको निवर्तमान कार्यसमिति तथा निर्वाचन समितिका पदाधिकारी र सदस्यहरूलाई समेत सम्मान गरिएको थियो ।

साधारणसभामा बोल्ने अधिकांश वक्ताहरूले भविष्यमा हुन सक्ने खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि अहिलेदेखि नै सचेत र योजनाबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् । बढ्दो सहरीकरण, तीव्र जनसंख्या वृद्धि र जलवायु परिवर्तनका कारण भूमिगत पानीको सतह घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै वक्ताहरूले तत्कालको वितरणलाई मात्र ध्यान नदिई आगामी मागलाई धान्ने गरी दीर्घकालीन गुरुयोजना बनाएर अघि बढ्नुपर्ने बताए ।

ज्येष्ठ नागरिक देवीभक्त लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्याल, प्रमुख संरक्षण अधिकृत डा. अशोक राम, राष्ट्रिय स्वतन्त्र पार्टी जीतपुरसिमरा नगर कमिटीका सभापति सुरेशराज केसी, नेपाली कांग्रेस जीतपुरसिमरा नगर समितिका सभापति रमेश पण्डित, नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाह, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ र सिमरा खानेपानीका पूर्वअध्यक्ष कासिम हुसेनलगायतले मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष युवराज न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभाको सहजीकरण सुनिल गाउँलेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्