महिन्द्राको सर्भिस सेन्टरले सुरु गर्यो सार्वजनिक शौचालय


eShilalekh

५ असार २०७९, आईतवार १७:३०

सिमराः महिन्द्रा कम्पनीको सिमरास्थित आधिकारिक सर्भिस सेन्टरमा सार्वजनिक शौचालयको सेवा सुरु गरिएको छ । कम्पनीको सर्भिस सेन्टर संचालन गर्दै सिमरा अटोज जोनले सेवा सुरु गरेको हो ।

सिमरास्थित होटल क्लासिक नजिकै रहेको सर्भिस सेन्टरमा अब सेवाग्राहीले मात्र नभई सर्वसाधारणले शौचालय सेवा प्राप्त गर्न सक्ने संचालक राजेश क्षेत्रीले बताएका छन् ।

आफ्नो व्यवसाय संचालन भएको स्थानमा सार्वजनिक शौचालयको बोर्ड राख्ने क्षेत्री सिमरामा पहिलो हुन् । उनले सर्भिस सेन्टरको अगाडी शौचालय प्रयोग गर्न सकिने संकेतसहितको बोर्ड झुण्ड्याएका छन् ।

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरपालिका भित्रका होटल, रेष्टुरेन्ट, पेट्रोल पम्पमा सार्वजनिक शौचालयको अभियान अघि बढाईरहदा क्षेत्रीले सिमरामा आफ्नो सर्भिस सेन्टरमा उक्त सेवा उलपब्ध गराएका हुन् ।

यसैगरी सिमरामा रहेको होटल गौतमराजले पनि आफ्नो होटलमा सार्वजनिक शौचालय शुरु गरेको छ । सिमरास्थित विधुत प्राधिकरण नजिक रहेको होटलले मेयर बालेन्द्र शाहको अभियानलाई समर्थन गर्दै सेवा सुरु गरेको हो ।

होटलले सार्वजनिक शौचालय सुरु भएको बोर्ड सार्वजनिक स्थानमा झुण्ड्याएर राखेको छ ।

प्रतिक्रिया दिनुहोस्