बाराका कुन स्थानीय तहले कहिले ल्याउदैछन् बजेट ? (सूचिसहित)


eShilalekh

६ असार २०७९, सोमबार १३:५५

सिमराः बाराको अधिकांश स्थानीय तहले संघीय सरकारले तोकेको समयसिमा भित्रै बजेट र निति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि यतिबेला असार १० गते भित्रै बजेट ल्याउने तयारीमा केन्द्रीत भएका हुन् ।

तोकिएको समयभित्रै बजेट नल्याउदा केन्द्रीय अनुदान र राजश्व बाँडफाँडको रकम प्राप्त गर्न कठिनाई हुने हुँदा जिल्लाका १६ वटै स्थानीय तह नगर र गाँउ सभाको तयारीमा व्यस्त देखिन्छन् । जिल्लाको अधिकांश स्थानीय तहले तोकिएको समय भित्र गर्नेगरी सभाको मिति समेत तय गरिसकेका छन् ।

जिल्लाका दुई ठुला पालिका जीतपुरसिमरा र कलैया उपमहानगरपालिकाले असार १० गतेका लागि निति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । नगर सभाकै तयारीका लागि कार्यपालिका बैठक र विषयगत समितिको बैठकलाई तिव्रता दिएको जीतपुरसिमराले असार १० गते नगर सभा हुने सार्वजनिक सूचना समेत जारी गरिसकेको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले समयमै बजेट ल्याउनका लागि जनप्रतिनिधि र कर्मचारी तयारीमा जुटेको ईशिलालेखलाई बताए । यता कलैया उपमहानगरपालिकाले पनि सूचना जारी गरी असार १० गतेका लागि सभाको मिति तय गरिसकेको छ । कलैया नगर प्रमुख विनोद साहले तोकिएको समयभित्र सभा सम्पन्न हुने बताए ।

यसैगरी निजगढ, कोल्हबी र सिम्रौनगढ नगरपालिकाले असार ९ गते र महागढीमाईले असार ८ गते नगर सभा गर्ने तयारी गरेको छ । जिल्लाको अर्को नगरपालिकाले पचरौताले भने मिति तय नगरेपनि असार १० गते भित्रै सभा गर्ने तयारी गरिरहेको छ । पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवले असार १० भित्रै गर्ने गरी सोमबार साझसम्म मिति तय हुने जानकारी दिए ।

जिल्लाका ९ मध्ये ६ वटा गाँउपालिकाले असार १० गते, दुईले असार ८ गते र एकले असार ९ गते गाँउसभाको तयारी गरेको छ । असार ९ गते सभा गर्ने तयारीमा परवानीपुर, प्रसौनी, बारागढी, फेटा, सुवर्ण र आदर्श कोतवाल रहेका छन् । यसैगरी असार ८ गते देवताल र बिश्रामपुर गाँउपालिकाले सभा गर्ने तयारी गरेका छन् करैयामाईले असार ९ गते सभा गर्ने तयारी गरिरहेको छ ।

कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले सभाको तयारीका लागि दैनिकरुपमा छलफल र वैठक भईरहेको बताएका छन् । यता निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले पालिकाको आन्तरिक स्रोत निर्धारण गरेर समयभित्रै बजेट ल्याउन आफूहरु लागिपरेको बताए ।

नगर र गाँउसभाको तयारी गरेका अधिकांश स्थानीय तहमा अहिलेसम्म वडा सिलिङ निर्धारण गर्न भने बाँकी छ । बैठक र छलफललाई निरन्तरता दिदै आएका जनप्रतिनिधिले असार १० गते भित्रै बजेट, निति तथा कार्यक्रम ल्याउने र असार भित्रै ‘ब्रेक डाउन’ गर्ने तयारी समेत गरिरहेका छन् ।

जिल्लाको महागढीमाई नगरपालिकाबाहेक सबै स्थानीय तहका प्रमुख र उपप्रमुख नयाँ अनुहारका छन् । भर्खरै निर्वाचित भएका जनप्रतिनिधिलाई बजेट, निति तथा कार्यक्रम निर्माणमा केही जटिलता समेत देखिएको छ । यता कार्यपालिकामा राजनीतिक दलको बहुमत र अल्पमतले समेत बजेट निर्माण प्रक्रिया केही प्रभावित हुन सक्ने देखिन्छ । केही स्थानीय तहमा भने जनप्रतिनिधिहरु बजेट ल्याउन उत्साहित छन् ।

परवानीपुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले समयमै गाँउसभा गर्न जनप्रतिनिधिहरु ईत्छुक र उत्साहित रहेकाले सभाको अन्तिम तयारी भईरहेको बताएका छन् । प्रसौनी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरीले समयमै बजेट ल्याउने विषयमा जनप्रतिनिधिहरु सकारात्मक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्