पथलैया-निजगढ सडकखण्डमा टिपर र जिप ठोक्किदा एकको मृत्यु


eShilalekh

६ असार २०७९, सोमबार २३:५३

सिमराः पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया-निजगढ सडकखण्डमा सोमबार साझ भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाईते भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित सहजनाथ मन्दिर जाने बाटो नजिकको राजमार्गमा निजगढबाट आउदै गरेको प्र २-०३-००१ च ४३२० नम्बरको जिप र विपरित दिशाबाट जादै गरेको प्रदेश २-०३-००१ क १९७१ नम्बरको टिपर ठोक्किदा जिपमा सवार महोत्तरी औराही नगरपालिका १ का ३० वर्षिय संजीव मण्डलको मृत्यु भएको हो ।

मण्डलको वीरगंजस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । मण्डलको टाउको र नाकमा गम्भिर चोट लागेको थियो ।

दुर्घटनामा परी सोही ठाँउका ३० वर्षिय लालश्री साह, बर्दिबास ११ का १८ वर्षिय जिप चालक जितेन्द्र पासवान, वीरगन्ज ३१ विश्रामपुरका २९ वर्षिय टिपर चालक शेख महमद कासिम र सोही ठाँउका १८ वर्षिय टिपर सहचालक रामजी मण्डल घाईते भएका छन् ।

घाईतेको अवस्था सामान्य रहेको र वीरगन्जमा उपचार भईरहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्