न्यु हिमाल क्लबले उचाल्यो पथलैया यु२० फूटवलको उपाधी


eShilalekh

५ भाद्र २०७९, आईतवार १६:४६

पथलैयाः न्यु हिमाल क्लब निजगढले प्रथम पथलैया यु२० नकआउट फूटवल प्रतियोगिताको उपाधी उचालेको छ । सहआयोजक दिब्यज्योती क्लबलाई सडन डेथमा पराजित गर्दै निजगढले उपाधी उचालेको हो ।

प्रतिस्पर्धात्मक अन्तिम भिडन्तमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा समेत ५–५ को बराबरी भएपछि नतिजा सडन डेथबाट निस्किएको हो ।

उपाधी विजेता हिमाल क्लबले ट्रफिसहित ३० हजार हात पारेको छ भने उपविजेता दिव्यज्योतीले ट्रफिसहित २० हजार प्राप्त गरेको छ । विजेता र उपविजेता क्लबलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङ, जीतपुरका अनिलराज गुप्ता, जीतपुरसिमरा १ का वडासदस्य अमन लामा, राकेश सुब्बा, नयाँ गोरेटो पुर्नस्थापना केन्द्रका अध्यक्ष राजकुमार लामालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी हिमाल क्लबका सुजन गौतम, उत्कृष्ट गोलरक्षक दिव्यज्योतीका रोहन थिङ र उत्कृष्ट रक्षक दिव्यज्योतीका समर तामाङ घोषित भए । प्रतियोगिता आयोजक युवा जागरण क्लबले फूटवल क्षेत्रको विकासका लागि योगदान पुर्‍याउने पूर्वखेलाडीलाई समापन कार्यक्रममा सम्मान समेत गरेको थियो ।

युवा जागरण क्लबका अध्यक्ष सुमन थापामगरको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा जीतपुरसिमरा १४ की वडाध्यक्ष चयन गुरुङ, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रध्यानाध्यापक शम्भु मण्डल, होली गार्डेन ईङलिस स्कुलका प्रिन्सिपल भुवन राई, पथलैया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नारायण लामा, राजकुमार डिमडुङ, ट्राफिक प्रहरी सहायक निरिक्षक दीपक बस्नेतसहित विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन भुवन थापाले गरेका थिए ।

पथलैयाका स्थानीय युवाहरु आवद्ध युवा जागरण क्लब र दिब्यज्योती क्लबको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा जिल्लाका १६ क्लबको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्