पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मिश्र, जनप्रतिनिधि र स्थानीयले गरे स्वागत


eShilalekh

७ भाद्र २०७९, मंगलवार ११:०९

सिमराः लामो समयदेखी कार्यालय प्रमुख विहिन अवस्थामा रहेको पचरौता नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महेश कुमार मिश्रलाई पठाएको छ ।

अधिकृत स्तरका मिश्रलाई मन्त्रालयले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको हो । मन्त्रालयले खटाएसंगै मिश्र नगरपालिकाको कार्यालयमा हाजिर भएका छन् ।

कार्यालयमा हाजिर गर्न आएका मिश्रलाई नगर उपप्रमुख नसिमा खातुन, वडाध्यक्ष लक्ष्मी यादव, प्रशासन प्रमुख गौरी साह, शिक्षा शाखा प्रमुख मुकेश सिंहलगायत जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए ।

कार्यालयमा हाजिर गर्दै प्रमुख प्रशासकीय अधिकृत मिश्रले कार्यालय प्रमुख नहुँदा रोकिएको सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य, शिक्षा र कर्मचारीको सेवासुविधाका कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । कार्यालय प्रमुख नभएकै कारण नगरसभा हुन नसक्दा कार्यालयको अन्य गतिविधि समेत प्रभावित हुन पुगेको बताउदै मिश्रले नगरसभा सम्पन्न गरेर अघि बढ्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत मिश्रले हाजिर गरेसंगै जनप्रतिनिधि र स्थानीय खुशी देखिएका छन् । वडाध्यक्ष यादवले नगरपालिकाको आमनागरिकले भोग्नुपरेको सास्ती तत्काल अन्त्य गर्ने गरी अघि बढ्ने बताएका छन् ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव लामो समय सम्पर्कविहिन भएपछि असार १० मा गर्नुपर्ने नगरसभा समेत हुन सकेको छैन् । नगरसभा हुन नसक्दा कर्मचारीको सेवासुविधा, सामाजिक सुरक्षा भत्ता रोकिएका छन् भने स्वास्थ्य र शिक्षा क्षेत्रसमेत प्रभावित छ ।

कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहिन भएपछि मन्त्रालयले निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सुमनकुमार कार्कीलाई पचरौतामा खटाएको थियो । तर कार्कीले उक्त निर्णय उल्टाउदै पुनः निजगढ नगरपालिकामै थमौती लिएपछि पचरौतामा अर्को प्रमुख प्रशासकीय अधिकृत तोकिएको थिएन् ।

प्रतिक्रिया दिनुहोस्