तेक्वान्दो संघको रेफ्री सेमिनार र रिफ्रेशर कोर्स सम्पन्न


eShilalekh

८ भाद्र २०७९, बुधबार १०:१३

सिमराः नेपाल तेक्वान्दो संघको आयोजनामा चार दिने रेफ्री सेमिनार र रिफ्रेशर कोर्स धनुषामा सम्पन्न भएको छ । राष्ट्रिय कार्यक्रम अन्तर्गत संघले दसौं राष्ट्रिय क्युरोगी तेक्वान्दो रेफ्री सेमिनार र एघारौं रेफ्री रिफ्रेशर कोर्ष आयोजना गरेको हो ।

नेपाल तेक्वान्दो संघ धनुषाको समन्वयमा आयोजित सेमिनारमा बारासहित मधेस प्रदेशका सात जिल्लाका ४० जना रेफ्री र प्रशिक्षकको सहभागिता रहेको थियो । सेमिनारमा संघका केन्द्रीय महासचिव दीपराज गुरुङ, अन्तर्राष्ट्रिय निर्णायक एवम् तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक टार्जन सुब्बा, अन्तर्राष्ट्रिय निर्णायक भिमलाल विश्वकर्मा, राष्ट्रिय निर्णायक कविराज खड्गीलगायतले सहजीकरण गरेका थिए ।

प्रशिक्षक र रेफ्रीको क्षमता अभिबृद्धिका आयोजित सेमिनारमा प्रदेश भरीका रेफ्री र दुई डान लिएका लिएका प्रशिक्षक सहभागी थिए । जिल्ला खेलकुद विकास समिति धनुषाको कभर्ड हलमा भदौ ४ गते सुरु भएको सेमिनार ७ गते सम्पन्न भएको थियो ।

सेमिनारको उद्घाटन संघका मधेस प्रदेश बरिष्ठ उपाध्यक्ष लक्ष्मण भण्डारीको र समापन महासचिव राजकुमार लामाको अध्यक्षतामा सम्पन्न भएको हो । समापन कार्यक्रमममा केन्द्रीय महासचिव गुरुङ, अन्तर्राष्ट्रिय निर्णायक एवम् तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक सुब्बा, अन्तर्राष्ट्रिय निर्णायक विश्वकर्मा, राष्ट्रिय निर्णायक खड्गीसहित खेलकुद विकास समितिका प्रमुख विनोदकुमार सिंह, नविना बुढाथोकी, धनुषा जिल्ला कार्यसमितिका अध्यक्ष तिलक लामालगायतको उपस्थिती रहेको थियो ।

समापन कार्यक्रममा सेमिनारमा सहभागी रेफ्री तथा प्रशिक्षकलाई केन्द्रीय महासचिव गुरुङले प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रमको संचालन अजितकुमार मिश्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्