सिमरामा दोस्रो अन्तर्राष्ट्रिय भेट्रान कप फूटवल प्रतियोगिता हुने


eShilalekh

१५ भाद्र २०७९, बुधबार १३:५३

सिमराः नेपाल र भारतका क्लबको सहभागिता रहने गरी सिमरामा दोस्रो अन्तर्राष्ट्रिय मञ्जुदेवी भेट्रान कप फूटवल प्रतियोगिता आयोजना हुने भएको छ । सिमरा भेट्रान क्लबले भदौ २९ गतेदेखी असोज १ गतेसम्म प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

सिमरा रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका १६ टिमको सहभागिता रहनेछ । क्लबले बुधवार सिमरास्थित होटल सम्यकमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगितामा दार्जलिङ, कोलकत्ता, सिक्किम, धरान, चितवन, जावलाखेल, चन्द्रनिगाहपुर, नवलपरासी, बिराटनगर, बुटवल, पोखराको दुई, वीरगन्जको दुई र आयोजक क्लबको दुई टिमको सहभागीता रहने जानकारी गराएको छ ।

सिमराका युवा समाजसेवी श्यामबाबु गुप्ताको स्वर्गीय माता मन्जुदेवीको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभरी उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, फरवार्डलाई समेत विधागत पुरस्कारबाट पुरस्कृत गरिने प्रतियोगिता संयोजक हरी चौधरीले बताए ।

प्रतियोगितामा ४० वर्ष उमेर भन्दा माथिका खेलाडी सहभागी हुनेछन् । चार दिनसम्म संचालन हुने प्रतियोगितामा दैनिक चार वटा सम्म खेल हुनेछ । नेपाल र भारतका विभिन्न भेट्रान कप फूटवल प्रतियोगितामा सहभागिता जनाउदै आएको सिमराले दोस्रो पटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना गर्न लागेको हो । यसअघि देशभरीका भेट्रान क्लबको सहभागितामा २०७४ सालमा प्रथम संस्करण आयोजना भएको थियो ।

देशभरीबाट सहभागी हुने क्लबबाट राष्ट्रिय टोलीका पूर्व खेलाडी समेत खेल्ने हुँदा प्रतियोगिता रोमाञ्चक हुने अपेक्षा आयोजकले गरेको छ । जीतपुरसिमरा गोल्डकपले सिमरालाई राष्ट्रिय स्तरमा चिनाउन र फूटवलको विकास गर्न सहयोग गरिरहेको अवस्थामा भेट्रान प्रतियोगिताले थप मद्यत पुग्ने अध्यक्ष राजकपुर राउतले बताए ।

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न मुख्य सहयोगीको भूमिकामा रहेका स्व. मञ्जुदेवीका छोरा श्यामबाबु गुप्ताले सिमरामा खेलकुद गतिविधिलाई निरन्तरता दिदै जानुपर्ने बताए । देशको विभिन्न उमेर समुहको राष्ट्रिय टिममा सिमरासहित बाराका खेलाडीले स्थान पाउनुमा निरन्तर फूटवलको गतिविधिकै कारण सम्भव भएको गुप्ताको भनाई छ । गुप्ताले फूटवल प्रतियोगितालाई आफ्नो आमाको नाममा आयोजना गर्न पाँउदा आफूले गौरवान्वित महसुस गरेको बताए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, क्लबका उपाध्यक्ष समिर आले, सचिव केदार ढकाल, कोषाध्यक्ष उमेश चौलागाईसहित पदाधिकारी र सदस्य, संचारकर्मीको उपस्थिती रहेको थियो । प्रतियोगिताको अनुमानित बजेट करिब १० लाखको रहेको कोषाध्यक्ष चौलागाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्