पथलैयाको पानी अमलेखगंज पुर्‍याउने योजना बनाईदै


eShilalekh

२६ असार २०७८, शनिबार ११:२५

सिमरा : अमलेखगंजका स्थानिय लामो समयदेखी शुद्ध पिउने पानीको समस्याबाट गुज्रिरहेका छन् । पिउने पानीका लागि आवश्यक पूर्वाधारको अभाव र स्रोत पर्याप्त नहुदा उनिहरु प्राकृतिक मुलको भरमा रहने गरेका छन् ।
चुरे पहाडको फेदिमा रहेको मुललाई स्थानिय स्तरबाटै ब्यवस्थापन गरि पानीको उपभोग गर्दै आएका स्थानिय बर्षायाममा थप प्रताडित हुने गरेका छन् । बर्षाको समयमा आउने बाढीले मुल बगाईदिने गरेको छ ।
पानीका लागि निकै समस्या भोगिरहेका अमलेखगंजका स्थानियलाई लक्षित गरी पथलैयास्थित खानेपानी उपभोक्ता सरसफाई समितिले नयॉ योजना अघि सारेको छ ।
पथलैयामा रहेको ओभरहेड टयांकीको क्षमता बढाएर अमलेखगंजसम्म पाईपबाट पानी पुर्‍याउन सकिने प्रस्ताव ल्याइएको हो । उक्त प्रस्ताव लिएर खानेपानी उपभोक्ता तथा सरसफाई समिति पथलैयाको टोलीले प्रदेश २ का खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मासंग भेट गरेका छन् ।

प्रदेशसभा सदस्य शोभा लामासहित पुगेको टोलीले राखेको उक्त प्रस्तावलाई मन्त्री शर्मा सकारात्मक रुपमा लिएका छने । उनले उक्त योजनामा आफूले प्रयास थाल्ने प्रतिबद्धता समेत ब्यक्त गरेको टोलीमा सहभागी नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाका नगर सभापति श्यामबाबु गुप्ताले जानकारी दिए ।
टोलीमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरा बहादुर गुरुङ, खानेपानी उपभोक्ता तथा सरसरफाई समितिका अध्यक्ष सुरेश लामालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्