अपांगता ब्यक्तिलाई उपमहानगरको प्रोत्साहन भत्ता


eShilalekh

२६ असार २०७८, शनिबार ११:३९


सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपांगता परिचयपत्र भएका ब्यक्तिलाई प्रोत्साहन भत्ता वितरण कार्यक्रम सुरु गरेको छ ।
सहायक सामाग्रीको सहयोगमा हिडडुल गर्न सक्ने अपांगता भएका ब्यक्तिलाई उपमहानगरले नगरकै स्रोतबाट प्रोत्साहन भत्ता वितरण गर्न सुरु गरेको हो ।
उपमहानगरपालिकाले शारिरीक अवस्था हेरी अपांगता भएका ब्यक्तिलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार वर्गमा छुट्याएको छ । ‘क’, र ‘ख’ वर्गमा अति अपांग भएका ब्यक्ति पर्दछन् ।
‘क’, र ‘ख’ वर्गमा पर्ने अपांगता भएका ब्यक्तिलाई नेपाल सरकारले भत्ता उलपब्ध गराउदै आएको छ । ‘क’ वर्गले चार हजार र ‘ख’ वर्गका ब्यक्तिले दुई हजार ६ सय भत्ता पाउदै आएका छन् । तर अपांगता भएपनि पहिलो र दोस्रो वर्गमा नपरेका ‘ग’ र ‘घ’ वर्गका ब्यक्तिलाई उपमहानगरले भत्ता दिन थालेको हो ।
उपमहानगरभित्र ८७ जनाले ‘ग’ वर्ग र २४ जनाले ‘घ’ वर्गको अपांगता परिचयपत्र लिएका छन् । उपमहानगरले ‘ग’ वर्गका ब्यक्तिलाई सात सय र ‘घ’ वर्गका ब्यक्तिलाई पॉच सयका दरले मासिक भत्ता उलपब्ध गराउनेछ । भत्ता वितरणका लागि जीतपुरस्थित कुमारी बैंकले सहजीकरण गर्ने भएको छ ।
उपमहानगरपालिकाकी नगर उपप्रमुख सरस्वती चौधरीले कुमारी बैंकका शाखा प्रवन्धक कृष्ण पौडेललाई भत्ता वितरणका लागि चेक हस्तान्तरण गरेकी छिन् । चेक हस्तान्तरण गर्दै चौधरीले अपांगता भएका ब्यक्तिलाई सहज ढंगबाट सेवा प्रवाह गर्न आग्रह गरिन् । अपांगता भएका ब्यक्तिको मनोबल उच्च राख्न प्रोत्साहनस्वरुप भत्ता उलपब्ध गराउन थालेको बताईन् ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत चेतकुमार पोखरेलले सामान्य अपांगता भएका ब्यक्तिलाई सिप दिएर आत्मनिर्भर बनाउन जरुरी रहेको बताए । सहायक सामाग्रीको सहयोगमा हिड्डुल गर्न सक्ने अपांगता भएका ब्यक्तिले सिप सिकेर आफ्नो दैनिकिलाई ब्यस्तता र ब्यवसायिकतामा अघि बढाउन सक्ने पोखरलेलको भनाई थियो ।
नेपाल अपांग संघ बाराका अध्यक्ष तथा नगरस्तरीय अपांगता समन्वय समितिका सदस्य धनप्रसाद बजगाईले अपांगता भएका ब्यक्तिको मागलाई सम्बोधन गरेकोमा उपमहानगरपालिकाप्रति खुशी ब्यक्त गरे । आफ्नै स्रोतबाट प्रोत्साहनस्वरुप भत्ता उपलब्ध गराउने पहिलो पालिकाको रुपमा जीतपुरसिमरालाई आफूले पाएको बजगाईको भनाई थियो ।
उनले अपांगता भएका ब्यक्तिलाई आत्मनिर्भर बनाउन सिपसहित आवश्यक सामाग्री उलपब्ध गराउन जरुरी रहेको बताए । विपन्न वर्गका अपांगता ब्यक्तिले सिप सिकेपनि प्राविधिक सामाग्रीको अभाव हुदा समस्या देखिएको बजगाईले बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य सुभद्रा न्यौपाने, अपांगता समन्वय समितिका सदस्य डा. दीपक गिरी, उपमहानगरपालिकाका कर्मचारी सुदन चौधरी, सिमा यादवलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्