पेट्रोलियम पाइपलाइनको तीन वर्ष, पाँच अर्ब बचत


eShilalekh

२५ भाद्र २०७९, शनिबार ११:२५

सिमराः मोतिहारी-अमलेखगंज पेट्रोलियम पाइपलाइन संचालनमा आएको तीन वर्ष पूरा हुँदा नेपाल आयल निगमले पाँच अर्ब बचत गरेको छ । पाइपलाइन संचालनमा आएको तीन वर्ष पूरा भएको अवसरमा अमलेखगंजस्थित आयल निगमको प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा पाइपलाइन अत्यन्तै सफल भएको बताइएको छ ।

फाईल तस्विर

दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना अन्तर्गत मोतिहारी-अमलेखगंज पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ गतेदेखि संचालनमा आएको थियो । पाइपलाइनको उद्घाटन नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एकसाथ नेपाल र भारतबाट बटम थिचेर गरेका थिए । पाइपलाइनको तीन वर्ष सफल भएको अवसरमा आयोजित कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुख प्रदीप यादवले सोचे अनुसार नै पाइपलाइन सफल देखिएको बताए ।

पाइपलाइनबाट इन्धनबाट आउँदा सुरक्षित हुने, चुहावट र अवरोध नहुने हुँदा पाइपलाइन अत्यन्तै सफल भएको यादवको भनाई छ । यादवले पछिल्लो तीन वर्षमा मात्रै पाँच अर्ब बचत भएको कार्यक्रममा जानकारी दिए । ‘पाइपलाइन अत्यन्तै सफल परियोजना हो । यसबाट तेल ल्याउँदा सुरक्षित हुनुका साथै चुहावट समेत हुँदैन’ यादवले भने ‘जसले गर्दा इन्धन ढुवानीमा निगमले व्यहोरिरहेको घाटामा कमी आउँछ ।’

फाईल तस्विर

ट्यांकरबाट इन्धन आयात गर्दा बाटोमै चुहावट हुने, सवारी दुर्घटना हुने, सडक अवरोधका कारण नियमित ढुवानीमा कठिनाई हुने जस्ता समस्या निगमले भोगिरहेको थियो । निगमले अहिले पाइपलाइनबाट डिजलमात्रै ल्याईरहेको छ । पछिल्लो तीन वर्षमा २८ लाख ९२ हजार चार सय २९ किलोलिटर डिजल आयात भएको यादवले जानकारी दिए । पाइपलाइनबाट वार्षिक २५ लाख किलोलिटर इन्धन आयात गर्ने क्षमता छ ।

फाईल तस्विर

हाल संचालनमा रहेको ६९.२ किलोमिटरको पाइपलाइनबाट डिजलमात्रै आयात गरिरहेको निगमले पेट्रोल र मट्टितेल ल्याउने तयारी गरिरहेको छ । दुई वर्षभित्र पाइपलाइनबाट डिजलसंगै पेट्रोल र मट्टितेल ल्याउने तयारी गरिरहेको बताउदै यादवले पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म लगिने जानकारी दिए ।

इन्धन पाइपलाइन चितवन लगिने र ग्यास पाइपलाइन सर्लाहीसम्म लग्ने योजना निगमको रहेको यादवको भनाई छ । ग्यास पाइपलाइन संचालनमा आए वार्षिक ४ अर्ब बचत हुने यादवले बताए । उक्त कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललगायत विभिन्न सुरक्षा निकायका प्रमुख, निगमका पदाधिकारीलगायत सहभागी थिए ।

‘अमलेखगंज देशकै ठुलो डिपो’

अमलेखगन्जस्थित प्रादेशिक कार्यालय नेपालकै सबैभन्दा ठूलो इन्धन भण्डारण क्षमता भएको डिपो हो । २०३३ सालमा निर्माण भएको यो डिपो अहिले ६७ हजार ७ सय २४ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यस डिपोमा १९ हजार ८ सय ४० किलोलिटर डिजेल, तीन हजार चार सय ३० किलोलिटर पेट्रोल, सात सय ६० किलोलिटर मट्टितेल भण्डारण गर्ने क्षमता रहेको छ ।

अमलेखगंज डिपोको क्षमताले देशको २.५ दिनको पेट्रोलियम पदार्थको माग धान्न सक्ने अवस्था छ । देशको २६ जिल्लामा आपूर्ती व्यवस्थापन गर्दै आएको डिपोसंग अहिले चार सय २४ डिलर, दुई सय ६४ ढुवानीकर्ता रहेका छन् ।

फाईल तस्विर

अमलेखगंजबाट विराटनगर, जनकपुर, थानकोट, पोखरा, भलवारी डिपोमा स्टक ट्रान्सफर हुँदै आएको छ । यस डिपोले दैनिक औसत ५ हजार किलोलिटर इन्धन स्टक ट्रान्सफर र ६ हजार ५ सय किलोलिटर इन्धनको आपूर्ति तथा वितरण गर्दै आएको छ ।

डिपोको सुरक्षाका लागि २४ लाख लिटरको पानी ट्यांकीसहित फायर फाइटिङको व्यवस्था गरिएको छ । डिपो तथा पाइपलाइन क्षेत्रमा २० वटा फायरमोनिटर, हाइड्रान्टसहित १४ इन्चको फायरलाइन छ । डिपोमा प्रतिघण्टा दुई सय ८८ किलोलिटर डिस्चार्जयुक्त दुईवटा वटा फायरइन्जिन रहेको छ ।

प्रत्येक लोडिङ अनलोडिङ वेमा क्यापासिटेटिभ अर्थिङ तथा विभिन्न क्षमताका सयभन्दा बढी फायर बोतलको व्यवस्था छ । सम्भावित आगलागी नियन्त्रणका लागि डिपोसँग आफ्नै २ वटा दमकल छ ।

प्रतिक्रिया दिनुहोस्