समानुपातिकतर्फको बन्दसूची पेश गर्न आयोगको आग्रह, असोज ३ सम्मको समयसीमा


eShilalekh

२६ भाद्र २०७९, आईतवार २०:५६

सिमराः निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकतर्फको बन्दसूची पेश गर्न राजनीतिक दललाई आग्रह गरेको छ । आयोगले आईतवार विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन ऐन, नियमावली र निर्देशिका बमोजिम बन्दसूची पेश गर्न आग्रह गरेको हो ।

आयोगले बन्दसूची पेश गर्न राजनीतिक दललाई असोज २ र ३ गतेको समयसीमा उपलब्ध गराएको छ । उक्त समयभित्र पेश भएको बन्दसूचीउपर आयोगले थप प्रक्रिया अघि बढाउने भएको छ । राजनीतिक दलले पेश गरेको बन्दसूची नियमानुसार रहेनरहेको छानविन गरी सच्याउनका लागि आयोगले असोज ४ देखी ९ गतेसम्म दललाई सूचित गर्नेछ ।

आयोगले बन्दसूची सच्याउनका लागि सूचित गरेबमोजिम राजनीतिक दलले असोज १० गतेदेखी १६ गतेसम्ममा बन्दसूची सच्याएर अन्तिम नामावली पेश गनुपर्नेछ । संशोधनपश्चात बन्दसूची पेश गर्नका लागि असोज १६ गतेको अन्तिम मिति तोकिएको छ ।

आयोगले बन्दसूची पेश गर्दा आयोगको वेवसाईटमा राखिएको चेक लिष्टसमेत संलग्न राख्न राजनीतिक दललाई विज्ञप्तीमार्फत आग्रह गरेको छ । मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम निर्धारण गरी राजपत्रमा समेत प्रकाशित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्