जीतपुरसिमरा उपमहानगरपालिकाद्धारा २७ शिक्षकको दरबन्दी मिलान (सूचीसहित)


eShilalekh

२८ भाद्र २०७९, मंगलवार २१:०२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले नगर क्षेत्र भित्र रहेका विद्यालयहरुको २७ शिक्षकको दरबन्दी मिलान गरेको छ । उपमहानगरपालिकाको कार्यालयले माध्यमिक तहका एक, निम्न माध्यमिक तहका दुई र प्राथमिक तहका २४ शिक्षकको दरबन्दी मिलान गरेको हो ।

शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ अन्तर्गत दरबन्दी मिलान गरिएसंगै रिक्तबाहेक हाल अध्यापन गराईरहेका २२ शिक्षकको सरुवा भएको छ । उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत हरिश भट्टका अनुसार २०७८ कार्तिक १४ को निर्णयलाई कार्यान्यवन गर्ने क्रममा दरबन्दी मिलान गरिएको जानकारी दिए ।

उक्त निर्णय कार्यान्यवन गर्ने क्रममा उपमहानगरपालिकाले २०७८ पुस १ गते सूचना जारी गर्दै अध्यापनरत शिक्षकसंग दरबन्दी मिलानका लागि निवेदन माग गरेको थियो । कार्यालयमा निवेदन परेका र नपरेका गरी २२ जना शिक्षकलाई दरबन्दीअनुसार मिलान गरिएको भट्टले बताए ।

कार्यालयमा निवेदन पेश गर्नेबाहेक पछिल्लो समय सेवामा प्रवेश गरेका शिक्षकलाई कनिष्ठताको आधारमा दरबन्दीमा मिलान गरिएको भट्टको भनाई छ । ‘कतै शिक्षकको संख्या बढी हुने, कतै शिक्षकनै नहुने’ अधिकृत भट्टले भने ‘त्यसैले शैक्षिक स्तर सुधारका लागि दरबन्दी मिलान अति आवश्यक थियो ।’

भट्टले हाल विभागको पत्रानुसार दरबन्दी मिलान गरिएको र अब विषयगत शिक्षक दरबन्दी मिलानको कार्यविधि बनाएर अघि बढ्ने बताए । विषयगत शिक्षक दरबन्दी मिलानपछि शैक्षिक स्तरमा सुधार आउने बताउदै भट्टले त्यसपश्चात प्रध्यानाध्यापक छनौट कार्यविधि बनाउने जानकारी दिए ।

उपमहानगपालिका भित्र चार धार्मिकसहित माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तह गरी ६४ सामुदायिक विद्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्