अन्तर्राष्ट्रिय सिमरा भेट्रान कपको तयारी पूरा, बुधवार(भोली) दुई खेल हुने


eShilalekh

२८ भाद्र २०७९, मंगलवार २१:३९

सिमराः स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा बधुवारदेखी सिमरामा सुरु हुन लागेको अन्तर्राष्ट्रिय भेट्रान कपको तयारी पूरा भएको छ । आयोजक सिमरा भेट्रान क्लबले मंगलवार साझ पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको छ ।

सिमरा रंगशालामा आयोजना गरिने प्रतियोगिताको उद्घाटन खेलमा सिमरा भेट्रान बी र बाग्मती भिड्नेछन् भने दोस्रो खेलमा नागसोती भेट्रान र चितवन भेट्रानबीच खेल हुने भएको छ । प्रतियोगिता संयोजक हरी चौधरीका अनुसार पहिलो खेल २ः३० बजे र दोस्रो खेल ३ः३० बजे हुनेछ ।

प्रतियोगितामा भारतको दुईसहित १६ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा दार्जिलिङ भेट्रान भारत, कलकत्ता भेट्रान भारत, मोरङ भेट्रान, अभिषेक चर्च परासी, नागसोती भेट्रान हेटौडा, चितवन भेट्रान, विरगंज युथ एकेडेमी भेट्रान, काठमाण्डौ भेट्रान, बाग्मती भेट्रान, भेट्रान सिटि भेट्रान वीरगन्ज, भुटनदेवी भेट्रान, वीरगन्ज सिटि भेट्रान, कालभैरव भेट्रान हेटौडा, डेभिल्स भेलिसेन्ट भेट्रान पोखरा, सिमरा भेट्रानको दुई टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन एकिकृत समाजवादीका नेता एवम् पूर्वमन्त्री किसान श्रेष्ठले गर्ने संयोजक चौधरीले जानकारी दिए ।

प्रतियोगितालाई हुलास स्टील, जगदम्बा स्टील्स् युआर गोल्ड प्रिमियम मसलाले सहप्रायोजन गर्ने भएको छ । यसैगरी प्रतियोगिताको प्रवर्द्धकमा नेपाल खेलकुद पत्रकार मञ्च बारा रहनेछ भने लण्ड्री पार्टनरमा यु आर अटोमेटिक लण्ड्री, ईसुरेन्स पार्टनरमा जनरल ईन्सुरेन्स, मेडिकलतर्फ अल्पाईन अस्पताल रहनेछन् ।

प्रतियोगिताको तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेनलमा प्रतियोगिताको मुख्य सहयोगी स्वर्गीय मञ्जुदेवी गुप्ताका छोरा श्यामबाबु गुप्ता, नेपाल पत्रकार महासंघका अध्यक्ष रेशम तिवारी, नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाँउलेलगायतको उपस्थिती रहेको थियो ।

सिमरा भेट्रान क्लबका अध्यक्ष राज कपुर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रतियोगिताको संचार संयोजक प्रदीप गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्