कांग्रेस बाराको अर्को विज्ञप्ति ‘नेता निलम्बनको पत्र झुठो हो’


eShilalekh

२९ भाद्र २०७९, बुधबार ००:२९

सिमराः नेपाली कांग्रेसका सहमहामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरीसहित तीन नेतालाई निलम्बन गरिएको पत्र झुठो भएको दावी गर्दै मंगलवार राती कांग्रेस बाराको लेटरप्याडमा अर्को विज्ञप्ति आएको छ ।

कांग्रेसको कलैयास्थित पार्टी कार्यालयका सचिव अम्बिकाप्रसाद यादवले पार्टीको विभिन्न नेतालाई निलम्बन गरिएको भन्दै मंगलवार दिउँसो सामाजिक संजाल र संचार माध्यममा आएको पत्रमा सत्यता नरहेको दावी गरि विज्ञप्ति निकालेका छन् ।

विज्ञप्तिमार्फत सहमहामन्त्री एवम् बारा क्षेत्र नं. १ का सांसद चौधरी, पूर्वसांसद एवम् महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नं. २ का सभापति रामप्रवेश यादवलाई कारवाही गरेको भन्दै बाहिरिएको पत्रमा हस्ताक्षर गर्ने अरुणकुमार यादव जिल्ला सदस्य मात्रै रहेको दावी गरिएको छ ।

विज्ञप्तिमा कांग्रेस बाराको जिल्ला कार्यसमितिले २०७९ बैशाख १० गते जिल्ला सभापति राजेश राय यादवको सभापतित्वमा बसेको बैठकले कांग्रेसको विधानको धारा ३४(३) बमोजिम विनोदमणी मण्डलको संयोजकत्वमा जिल्ला अनुशासन समिति गठन भएको र सो समितिमा रामनारायण प्रसाद यादव र सुनैनादेवी कलवार सदस्य रहेको उल्लेख छ ।

स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरेको आरोप लगाउदै केन्द्रीय अनुशासन समितिलाई सम्बोधन गरेर कांग्रेसका तीन जना नेतालाई कारवाही गरेको पत्र सार्वजनिक भएको थियो । उक्त पत्रमा अरुणकुमार यादवले हस्ताक्षर गरेका थिए ।

यसअघि बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र १ (क) बाट प्रदेशसभा निर्वाचनका लागि सिफारिस भएका महाधिवेशन प्रतिनिधि शम्भुबहादुर बुढाथोकीलाई निलम्बन गरेको पत्र सोमबार बाहिरिएको थियो । बुढाथोकीलाई निलम्बन गरिएको पत्रमा विनोदमणी महतोले हस्ताक्षर गरेका थिए ।

दुई गुटमा विभाजित कांग्रेस भित्रको विवाद यतिबेला सतहमा आएको छ । बारामा केन्द्रीय सभापति शेरबहादुर देउवा निकट रहेका सहमहामन्त्री फरमुल्लाह मंसुर र कृष्णप्रसाद सिटौला निकट रहेका अर्का सहमहामन्त्री चौधरीको छुट्टाछुट्टै गुट छ ।

केन्द्रीय तहमा देउवा र सिटौला एकै समुहमा रहेपनि जिल्लामा भने दुई गुटबीच चरम विवाद देखिन्छ । यसअघि मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुवै गुटले छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका थिए । दुवै पक्षले आफूले गरेको सिफारिसलाई आधिकारिक रहेको दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्