बारामा नौ जनामा डेंगु संक्रमण, सचेत रहन जनस्वास्थ्य कार्यालयको आग्रह


eShilalekh

२९ भाद्र २०७९, बुधबार १०:५२

सिमराः बारामा नौ जनामा डेंगु संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार २८ जनाको रगत परीक्षण गर्दा नौ जनामा संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा कलैयामा उपमहानगरपालिकाका पाँच, स्रिमौनगढका दुई, कोल्हबी नगरपालिका र आदर्शकोतवाल गाँउपालिकाका एक-एक जना रहेका छन् ।

संक्रमितमध्ये केही काठमाण्डौंबाट फर्किएको र केही जिल्लामै बसोबास गर्ने रहेका छन् । अस्वस्थ भई अस्पताल पुगेका बिरामीमा डेंगुको लक्षण देखिएपछि अस्पतालले परिक्षणका लागि जनस्वास्थ्य कार्यालय पठाएको थियो ।

जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेश यादवले पछिल्लो एक सातायता गरिएको परीक्षणमा नौ जना संक्रमित देखिएको बताए । यादवले कार्यालयसंग सम्पर्कमा आएका बाहेक पनि जिल्लामा डेंगुको संक्रमितको संख्या रहेको बताएका छन् । ‘कार्यालयको सम्पर्कमा आएकाहरुको विवरण मात्रै हामीसंग छ’ यादवले भने ‘यसबाहेक पनि अझै संक्रमित हुन सक्ने अनुमान गरेका छौ ।’

डेंगुको संक्रमण बढ्न थालेपछि जिल्लास्थित स्थानीय तहलाई सरसफाई र चेतनामुलक कार्यक्रम गर्न पत्राचार गर्न लागिएको यादवले जानकारी दिए । यादवले घर वरपर खाल्डो, भाडामा पानी जम्न नदिन र सरसफाईनमा ध्यान दिन आग्रह गरेका छन् ।

डेंगु संक्रमितलाई टाउको दुख्ने, ज्वरो आउने, वाकवाकी लाग्ने, थकान महसुस हुनेलगायतका लक्षण देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्