राजमार्गमा भेटिएका परिवारको कथा..(फोटोफिचर)


eShilalekh

४ आश्विन २०७९, मंगलवार १०:३२

मनहरीः व्यस्त राजमार्ग अनि तिव्र गतिमा गुडिरहेका सवारीसाधन र मानिसको आवतजावत । दृश्य हेर्दा लाग्छ गन्तब्य पुग्न सबैलाई हतारो छ । तर त्यही राजमार्गको छेउमा हिडिरहेकी ६ वर्षिया मनिषा परियारलाई भने कुनै हतारो देखिन्थेन्, उनि सुस्त गतिमा आफ्नो गन्तब्य पछ्याउदै थिईन् ।

मनहरी गाँउपालिका ९ स्थित राजमार्गमा देखिएका दुई दृश्यमध्ये मनिषाको यात्रा भने अलि फरक थियो । मनिषा सानी छिन्, अभिभावकको सहारा लिएर हिड्नुपर्ने उनको उमेर नै छ । तर आफ्नै पाईला सम्हालिएर टेक्न नसक्ने उमेरकी मनिषा एक वर्षकी बाहिनिलाई पिठ्युमा बोकेर घरतर्फ लम्किरहेकी हुन्छिन् ।

आफू र बहिनि प्रितिलाई सम्हाल्दै मनिषा अघिअघि हिडिरहदा पछिपछि भने उनकी हजुरआमा मिना देखिन्छिन् । दमको बिमारीका कारण ५५ वर्षीया मिनालाई छिटो र धेरै हिड्न गाह्रो छ । त्यसैले मिना सम्हालिएर र सुस्त गतिमा पाईला लम्काईरहेकी हुन्छिन् । बेलाबेलामा अडिएर उनि अघिअघि हिडिरहेकी मनिषालाई विस्तारै हिड्न सुझाउछिन् ।

स्कुलको झोला बोकेर पछिपछि हिडिरहेकी मिनासंगै हुन्छिन् अर्की नातिनि खुशी परियार । मिनाले बोकेको झोला भने मनिषाको हो । मनिषा र खुशी कक्षा १ मा पढ्छन् । उनिहरु दुवैलाई मिनाले दिनहुँ स्कुल लैजाने र ल्याउने गर्छिन् ।

शरीरिक अस्वस्थताका कारण झण्डै एक घण्टा हिडेर स्कुल पुर्‍याउने गरेकी मिनाले उनिहरुलाई लिन जाँदा अर्को एक घण्टा खर्चिनुपर्ने रहेछ । मनिषा र खुशीलाइ पुर्‍याउन र लिन जाँदा मिनासंगै हुन्छिन् प्रिती । स्कुल जाँदा मिनासंगै जाने प्रितीलाई फर्किदा भने मनिषाले बोकेर ल्याउने रहिछिन् ।

आफ्नो दुई छोरी सन्दिपा र रोशनी रोजगारीका लागि केही महिनाअघि भारत गएपछि उनिहरुको सन्तानलाई हेर्दै आएकी मिनाको दैनिकि अहिले यस्तै छ । मिना दिनहुँ घण्टौ हिडेर नातिनिलाई स्कुल पुर्‍याउने र ल्याउने गर्छिन् । जाँदा हजुरआमासंगै हिडेर जाने प्रितीलाई फर्किदा भने मनिषाले बोकेर ल्याउने गर्छिन् ।

‘म बोक्न सक्दिन, दम रोगका कारण मलाई धेरै हिड्न पनि गाह्रो हुन्छ । त्यसैले उ (मनिषा) आफैले बोक्छिन्’ मिनाले भनिन् ‘उसको झोला म बोकिदिन्छु, अनि उसले बहिनी बोकेर घर ल्याउछिन् ।’ मनिषाले प्रितीलाई बोकेर झण्डै एक घण्टामा घर ल्याउने गरेको मिनाले सुनाईन् ।

मिनाका अनुसार मनिषा र खुशी सन्दिपाको र प्रिती रोशनीको छोरी हुन् । तीनै जनालाई मिनाले हेरचाह गर्दै आएकी छिन् । मिनाको आर्थिक स्थिती अत्यन्त कमजोर छ । मिनाका पति पनि दम रोगका कारण घरमै बस्छन् । छोरीहरु काम गर्न भारत गएपछि तीन जना नातिनिको जिम्मेवारी सम्हालेर भाडाको घरमा बस्दै आएकी मिना आर्थिक अभावका कारण उपचार गर्न समेत गाह्रो भएको पीडा सुनाउछिन् ।

‘श्रीमान आफै थला परेर बसेका छन् । म पनि बिरामी छु । उपचार गराउन समेत पैसा छ्रैन’ मिनाले भनिन् ‘छोरीहरु काम खोज्दै भारत गए । म यता जसोतसो गुजारा टार्दै आएकी छु ।’

शब्द/तस्वीरः दिवाकर भण्डारी

(भण्डारी अन्नपूर्ण पोष्टका बारा संवाददाता र यस ईशिलालेख डटकमका संचालक हुन् ।)

प्रतिक्रिया दिनुहोस्