समानुपातिक मतदानका लागि विहिवारदेखि अस्थायी मतदाता नामावली संकलन हुने


eShilalekh

५ आश्विन २०७९, बुधबार २०:०३

सिमराः प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतदानका लागि विहिवारदेखि अस्थायी मतदाता नामावली संकलन हुने भएको छ ।

मंसीर ४ गतेका हुने निर्वाचनको समानुपातिकतर्फको मतदानमा सहभागी हुन पाउने गरी अस्थायी मतदाता नामावली संकलन लागिएको हो । अस्थायी मतदाता नामावली समावेश भएकाहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् ।

निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलनका लागि एक महिने कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्वमा रहेको संस्था, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र सरकारको स्विकृती लिई संचालित वृद्धाश्रममा रहेका व्यक्तिले अस्थायी मतदाता नामावलीमा नाम समावेश गराउन सक्नेछन् ।

अस्थायी मतदाता नामावलीमा नाम समावेश गराउनका लागि सम्बन्धित कार्यालयको प्रमुखले प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउनुपर्नेछ । नामावलीमा नाम समावेश गराउनका लागि आयोग पछिल्लो पटक सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ ।

अन्तिम नामावलीमा नाम भएनभएको रुजु गरी सम्बन्धित कार्यालयका प्रमुखले असोज ८ गतेदेखी असोज २६ गतेसम्म नाम पठाउने सक्नेछन् । अस्थायी नामावलीका लागि आएका नाम रुजु गरी कार्तिक १ गते जिल्ला निर्वाचन कार्यालयमा प्रारम्भिक नामावली प्रकाशन हुनेछ ।

प्रारम्भिक नामावलीमा प्रकाशित नाममा त्रुटी भए वा छुट भएमा कार्तिक २ गतेदेखी ३ गतेसम्म सच्याउन वा थप गर्न सकिनेछ । उक्त कार्यपछि कार्तिक ४ गते संशोधित अस्थायी मतदाता नामावली प्रकाशन हुनेछ ।

संशोधित नामावलीमा समावेश भएका नाममा कार्तिक ५ गतेदेखि कार्तिक ६ गतेसम्म दावी विरोधको समय रहनेछ । दावी विरोध आएका नामका सम्बन्धमा कार्तिक ७ गतेदेखि कार्तिक ११ गतेसम्म जाँचबुझ हुने र कार्तिक १४ गते अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन हुनेछ कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्