शालीन देवनारायणः निर्विकल्प दोहोरिदै


eShilalekh

५ आश्विन २०७९, बुधबार २१:३९

सिमराः प्रतिनिधि सभाका लागि एकल सिफारिस भएका देवनारायण चौधरीले बारा क्षेत्र नं. ४ बाट चुनाव लड्ने लगभग निश्चित जस्तै छ । २०७४ सालको निर्वाचनमा पराजित भएका चौधरीलाई यो पटकपनि निर्विकल्प उम्मेदवारका रुपमा अघि सार्न क्षेत्र नं. ४ का एमाले नेताकार्यकर्ता तयार हुनुले पनि उनको उम्मेदवारी निश्चित बनको हो ।

शालीन स्वभावका चौधरी अघिल्लो निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (हाल लोसपा) का उम्मेदवार एकवाल मियाँसंग करिब एक हजार ६ सय ६८ मतले पराजित हुन पुगेका थिए । मियाँले २२ हजार दुई सय ७५ मत प्राप्त गर्दा चौधरीले २० हजार ६ सय आठ मत पाएका थिए ।

उक्त निर्वाचनमा पराजित भएपछि पार्टीमा सक्रिय रहेका चौधरी सबैको सहमती जुटाउदै दोस्रो पटक उम्मेदवारका लागि सर्वसम्मत् सिफारिसमा परेका हुन् । एकल सिफारिस भएसंगै उनि चुनावी रणनीतिमा व्यस्त छन् । एमाले बाराको निवर्तमान अध्यक्ष र हाल प्रदेश कमिटी सदस्य रहेका चौधरी साविकको भवानीपुर जीतपुर गाविसका अध्यक्ष समेत हुन् । शिक्षण पेशासंगै राजनीतिमा सक्रिय रहदै गाविस अध्यक्ष भईसकेका चौधरी त्यसयता पार्टीको जिम्मेवारीमा मात्रै छन् ।

लामो समयपछि अवसर पाउदै अघिल्लो निर्वाचनमा उम्मेदवार बनेपनि थोरै मतान्तरले पराजित भएपछि चौधरीप्रति सबैको सदभाव बढ्दो छ । क्षेत्र नं. ४ मा चौधरीले टिकट प्राप्त गरे एमाले मात्र नभई अन्य दलमा आवद्ध र स्वतन्त्र नागरिकबाट पनि सहानुभूति मत प्राप्त गर्ने अपेक्षा राखिएको देखिन्छ ।

बारा क्षेत्र नं. ४ मा जीतपुरसिमराको १६ वटा वडा, परवानीपुर र बिश्रापुरको सबै वडा, फेटाको १, २, ३, ४ नम्बर वडा, कलैया उपमहानगरपालिकाको १७ नम्बर र प्रसौनीको ७ नम्बर वडा क्षेत्र नं. ४ मा पर्दछ । यी मध्ये जीतपुरसिमरामा एमालेको एकल बहुमत छ भने परवानीपुरमा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेका छन् । बिश्रामपुरमा लोसपाका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् भने फेटामा विवेकशिल साझा पार्टी बिजयी भएको छ । क्षेत्र नं. ४ मा समेटिएको कलैया उपमहानगरको १७ नम्बर वडामा कांग्रेस र प्रसौनी ७ मा एमाले निर्वाचित भएको छ ।

स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतलाई हेर्ने हो भने क्षेत्र नं. ४ मा एमाले बलियो स्थितीमा छ । यस क्षेत्रबाट चौधरीले प्रतिनिधिसभा सदस्यका लागि टिकट पाँउदा प्रदेश सभा सदस्यका लागि ४ (क) मा मनोज पौडेल र ४(ख) मा ईन्जिनियर मोबिन आलमको नाम चर्चामा देखिन्छ ।

प्रदेश सभा सदस्यका लागि ४ (क) मा आठ जनाको नाम सिफारिस भएको थियो । सिफारिस हुनेमा पौडलसहित अमृतलाल श्रेष्ठ, रविन्द्र खकुरेल, देवी सापकोटा, कासिम हुसेन, भरत घले, जयकिशोर चौधरी रहेका छन् ।

‘हेभिवेट’ उम्मेदवारको रुपमा हेरिएका पौडेल स्थानीय तह निर्वाचन २०७९ मा जीतपुरसिमराको नगर प्रमुखमा दावी प्रस्तुत गरेका थिए । तर एमालेले केन्द्रीय सदस्य एवम् जीतपुरसिमराकी उपप्रमुख सरस्वतीदेवी चौधरीलाई नै प्रमुख पदको टिकट दिएपछि पौडेल निर्वाचन परिचालन कमिटीको संयोजक भएर चुनावमा सक्रिय भएका थिए । जसका कारण एमालेवृत्तमा उनिप्रति सदभाव बढ्दै गएको देखिन्छ ।

यसैगरी ४ (ख) बाट मोबिन आलम, सोचन यादव, जयप्रकाश यादव, उमेश कुशवाहा, उमेश गुप्ताको नाम सिफारिस छ । सिफारिस भएकामध्ये आलमलाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ । एमाले भातृ संगठन राष्ट्रिय युवा संघको मधेस प्रदेश संयोजक समेत रहेका आलम २०७० सालमा हत्या गरिएका एमाले नेता महमुद आलमका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्