अंश जोगाउन आमाको हत्या, छोरा पक्राउ


eShilalekh

९ आश्विन २०७९, आईतवार ११:३७

सिमराः नागरिकता बनाईदिए सम्पति दिनुपर्ने देखेपछि एक युवाले सौतेनी आमाको हत्या गरेको रहस्य खुलेको छ । नागरिकता बनाइदिन आग्रह गर्दै आएकी कलैया उपमहानगरपालिका ७ रंगपुरकी तेतरीदेवीको हत्या आरोपमा प्रहरीले उनको छोरा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २५ वर्षीय जयकिशोर यादव रहेका छन् । नागरिकताको विषयलाई लिएर घरमा आपसी विवाद हुँदा जयकिशोरले भदौ ३० गते खुकुरी प्रहार गरि तेतरीदेवीको हत्या गरेका हुन् । हत्यापछि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले जयकिशोरसंग अनुसन्धानका लागि उनका बुवा शिवनारायणलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार तेतरीदेवी शिवनारायणको पहिलो श्रीमती हुन् । उनिबाट सन्तान नभएपछि शिवनारायणले अर्को विवाह गरेका थिए । जयकिशोर दोस्रो श्रीमतीका सन्तान हुन् ।

विवाह भएको ३० वर्ष वितिसक्दा पनि शिवनारायणले तेतरीदेवीको नागरिकता बनाएका थिएनन् । कान्छी श्रीमती र छोरा जयकिशोरको दवावमा शिवनारायणले नागरिकता नबनाईदिएको प्रहरी निष्कर्ष छ । तेतरीदेवीलाई नागरिकता बनाईदिए अंश दिनुपर्ने भएकाले उनको हत्या भएको हुनसक्न देखिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

प्रहरीले पक्राउ परेका दुवैलाई म्याद थप गरि अनुसन्धानका लागि नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्