पसाहा खोलामा एकैपटक दुई वटा पुलको शिलान्यास


eShilalekh

१० आश्विन २०७९, सोमबार ०८:३२

सिमराः ग्रामीण बस्तीलाई एकआपसमा सडक संजालमार्फत जोड्ने गरी आईतवार पसाहा खोलामा एकैपटक दुई वटा पुलको शिलान्यास गरिएको छ ।

बारा क्षेत्र नं. ३ का निवर्तमान सांसद रामबाबु कुमार यादव र क्षेत्र नं. २ का निवर्तमान सांसद रामसहाय प्रसाद यादवले पुलको शिलान्यास गरेका हुन् । शिलान्यास भएकामध्ये एउटा पुलले क्षेत्र नं. ३ को जैतापुरदेखि रघुनाथपुरलाई जोड्ने छ भने अर्को पुलले क्षेत्र नं. ३ र क्षेत्र नं. २ को खम्बादेखि मधुवनलाई जोड्नेछ ।

जैतापुर–रघुनाथपुरको करिब एक सय ६५ मिटरको पुल करिब ४० करोड र खम्बा–मधुवनको एक सय पाँच मिटर पुल करिब २६ करोडको लागतमा निर्माण हुन लागेको हो । शिलान्यासका क्रममा क्षेत्र नं. २ का निवर्तमान सांसद एवम् पूर्वमन्त्री यादवले दुई वर्षमा पुल निर्माणको काम सम्पन्न हुने बताए । बारा क्षेत्र नं. ३ का निर्वतमान सांसद यादवले समयभित्र निर्माण हुने गरी पुलको काम अघि बढेको बताएका छन् ।

शिलान्यास कार्यक्रममा मधेश प्रदेशका निवर्तमान सांसद बच्चा यादव, करैयामाइ गाउँपालिकाका प्रमुख शम्भुप्रसाद यादव, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, जसपाका केन्द्रीय सदस्य भरत खड्का, प्रयागराज यादव, प्रकाश चौगाईं, रामबाबुप्रसाद यादव, शिला साह, गणेशकुमार कुशवाहा, जीतपुरसिमरा वडा नं १७ का वडाध्यक्ष भीम गंतान, वडा नं १८ का वडाध्यक्ष चर्तुरबाबु वाग्ले, जसपा मधेस प्रदेश सदस्य सोहन शर्मालगायत विभिन्न पालिकाका जनप्रतिनिधि, जसपाका प्रदेश र जिल्ला तहका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्