सिमरामा केएसआर मुभिज संचालनमा, नायक खड्काले दर्शकसंग हेरे ‘प्रेमगीत ३’


eShilalekh

१० आश्विन २०७९, सोमबार १९:१८

सिमराः चलचित्र प्रेमगीत ३ को प्रचारमा ब्यस्त नायक प्रदीप खड्काले सोमबार सिमरामा दर्शकसंग बसेर फिल्म हेरेका छन् । प्रेमगीत ३ प्रदर्शनसंगै संचालनमा आएको सिमरास्थित केएसआर मुभिजमा नायक खड्काले दर्शकसंग बसेर फिल्म हेरेका हुन् ।
प्रेमगीत ३ प्रदर्शन गर्नुअघि केएसआर सिनेमा घरको उद्घाटन गरिएको थियो । झण्डै १८ करोडको लागतमा निर्माण भएको सिनेमा घरको नायक खड्कासहित प्रेमगीत ३ को कलकार टोली, पूर्व श्रममन्त्री किसान श्रेष्ठ, निवर्तमान प्रदेश सभा सदस्य शोभा लामा, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, हास्यकलाकार किरण केसी, सन्दीप क्षेत्रीलगायतले एकसाथ उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा नायक खड्काले राजधानी बाहिर सुविधा सम्पन्न सिनेमा घर संचालनमा आएकोमा खुसी ब्यक्त गरे । चलचित्र प्रेमगीत ३ ले नेपाललाई विश्वभर चिनाउन सफल भएको नायक खड्काले बताए । सिनेमा घरको उद्घाटनपछि नायक खड्काले दर्शकसंग बसेर फिल्म हेरेका थिए । उनिसंगै नायिका क्रिष्टिना गुरुङ, निर्देशक सन्तोष सेनलगायतका कलाकार सहभागी थिए ।

सिमराका ब्यवसायी कासिम मियाँ, रोसित उन्निथान, राजन उप्रेती र सुदीप लामाको लगानीमा संचालनमा आएको केएसआर सिनेमा घर सिमराकै पहिलो हो । यसअघि यस क्षेत्रबाट चलचित्र हेर्न दर्शकलाई वीरगन्ज र हेटौडासम्म पुग्नुपर्ने बाध्यता रहेको थियो । केही समयअघि सिमरामा करोडौंको लगानीमा बिजनेश सेन्टर सुरु गरेका व्यवसायीले दुई वटा स्क्रिनसहितको सुविधासम्पन्न सिनेमा घर संचालनमा ल्याएका हुन् ।

सिनेमा घरको उद्घाटनका क्रममा पूर्व श्रम मन्त्री श्रेष्ठले शहरोन्मुख सिमरामा सिनेमा घर संचालनमा आउनु चलचित्रप्रेमीका लागि मात्र नभई सम्पूर्ण क्षेत्रका लागि गौरवको विषय भएको बताए । बिकसित शहरको रुपमा रुपान्तरित हुदै गएको सिमरामा लगानीकर्ताको आकर्षण बढ्दो अवस्थामा रहेको बताएका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी कटुवालले व्यवसायसंगै सिमरालाई सुविधा सम्पन्न सहरको रुपमा चिनाउन सिनेमा घरले मद्यत पुग्ने बताए । कार्यक्रममा पूर्व सिनेकर्मी युवराज लामा, हास्यकलाकार किरण केसी र सन्दीप क्षेत्रीले चुनौतीका बीच सिमराका व्यवसायीले चलचित्र क्षेत्रका लागि गरेको लगानीले सफलता प्राप्त गर्नेमा आशावादी रहेको बताए ।

केएसआर सिनेमा घरमा नेपाली र हिन्दी भाषामा डबिङ गरिएको चलचित्र एकसाथ प्रदर्शन गरिएको थियो । कलाकारको टोलीसंगै बसेर बहुप्रतिक्षित चलचित्र हेर्न पाँउदा दर्शक निकै उत्साहित देखिन्थे । उद्घाटनसंगै सिनेमा घर अब नियमितरुपमा संचालन हुने व्यवसायीमध्येका एक उप्रेतीले ईशिलालेखलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्