कोसेली युथ क्लबको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न


eShilalekh

१२ आश्विन २०७९, बुधबार ०१:४७

सिमराः जीतपुरसिमरा २ स्थित हुलासमा सक्रिय रहेको युवाहरुको संस्था कोसेली युथ क्लबले मंगलवार शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बिजयादशमीको अवसर पारेर क्लबले शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, युवा र स्थानीयको उपस्थिती रहेको थियो । शुभकामना कार्यक्रमका सहभागीले मन्तब्य राख्दै सामाजिक गतिविधिमा युवाको सक्रियता अत्यन्तै महत्वपूर्ण रहने बताए ।

कार्यक्रममा नेकपा एमाले बाराका सचिवालय सदस्य मनोज पौडेलले कोसेली युथ क्लबमार्फत युवाहरुले खेलकुद र समाजमा विभिन्न रचनात्मक गतिविधि गरेको भन्दै प्रशंसा गरे । समयानुकुल समाज रुपान्तरणका लागि युवाको भूमिका अहम रहने भन्दै नेता पौडेलले युवा शक्तिको सक्रियताले दिगो विकास र सबल समाजको निर्माणको अभियानलाई अघि बढाउन सकिने बताए ।

प्रदेश सभा निर्वाचनमा बारा क्षेत्र नं. ४ (क) बाट प्रदेश सभा सदस्यको आकांक्षी समेत रहेका पौडेलले सुन्दर समाज निर्माणका लागि युवा शक्तिको भावनालाई अवमुल्यन गर्ने भन्दा पनि समेटेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङ, निवर्तमान कार्यपालिका सदस्य शोभा कार्की, एमाले जीतपुरसिमरा २ का वडा कमिटी अध्यक्ष रविन्द्र खकुरेल, जीतपुरसिमरा २ का वडासदस्य बिशाल घिमिरे, जीतपुरसिमरा १ का वडा सदस्य अमन लामा, राप्रपाका नेता यादव अधिकारी, स्थानीय समाजसेवी भरत भुर्तेल, हेमराज न्यौपाने, राधाकृष्ण मध्यवर्ती वन समूहका अध्यक्ष सत्य श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

क्लबका अध्यक्ष दधिर प्याकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण युवा प्रकाश ढुंगानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्