निजगढका किसानले लगाए हिमालयन इन्स्यारेन्सको कार्यालयमा ताला


eShilalekh

१२ आश्विन २०७९, बुधबार १८:४७

सिमराः केरा खेती नष्ट भएको बर्षौ दिन वितिसक्दा पनि बीमा बापतको रकम नपाएका बारा निजगढका किसानले बुधवार बीमा कम्पनीको कार्यालयमा तालाबन्दी गरेका छन् ।

बीमा रकम माग गर्दै सडक संघर्षमा उत्रिएका किसानले बाराको सिमरास्थित हिमालयन इन्स्योरेन्सको कार्यालयमा तालाबन्दी गरेका हुन् । पटकपटक माग गर्दा समेत बीमा बापतको रकम नपाएको भन्दै किसानले मंगलवारदेखी सडक संघर्ष सुरु गरेका थिए ।

बारा केरा उत्पादक तथा फलफूल संघ बाराका अध्यक्ष एकबहादुर श्रेष्ठले चाडपर्वको मुखमा किसान बाध्य भएको आन्दोलनमा उत्रनुपरेको र दवावका लागि कार्यालयमा तालाबन्दी गरेको बताए । इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय पुगेर पटकपटकको छलफल र दवावपछि पनि वेवास्था गरिएपछि आन्दोलन रोज्नुपरेको श्रेष्ठको भनाई थियो ।

इन्स्योरेन्स कम्पनीको कार्यालयमा तालाबन्दी गर्न निजगढबाट श्रेष्ठको नेतृत्वमा किसान सिमरा आएका थिए । कार्यालयमा तालाबन्दी गरेर किसानले ‘केरा क्षति बीमाको रकम भुक्तानी नदिएकाले तालाबन्दी गरिएको छ’ भन्ने सूचना टाँस गरेका छन् ।

गत बैशाख १६ गते आएको बर्षासहितको हुरीले निजगढमा एक सय २० बिगाह भन्दा बढी क्षेत्रफलमा लगाइएको केरा खेती पूर्णरुपमा नष्ट गरेको थियो । स्थानीय किसानका अनुसार उक्त दिन ६ करोड भन्दा बढी रकम बराबरको क्षती भएको छ ।

हिमालयन इन्स्योरेन्स कम्पनीबाट खेतीको बीमा गरेका किसानले हालसम्म बीमा बापतको रकम प्राप्त गर्न सकेका छैनन् । कृषीमा लगाइएको लगानी सुरक्षित गर्न बीमा गरेका किसान बीमा कम्पनीबाट पीडित बनेका हुन् ।

केराको पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक हजार दुई बिगाहमा केरा खेती हुने गरेको छ । उक्त खेती मध्ये एक सय २० बिगाहको बाली नष्ट भएको हो ।

हिमालयनले हालै एभरेष्ट इन्स्योरेन्ससंग मर्ज समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्