चाडपर्वलाई लक्षित गर्दै मधेस प्रदेशमा यात्रुबसलाई ‘टाइम कार्ड’


eShilalekh

१३ आश्विन २०७९, बिहीबार ११:५७

सिमराः दशैं, तिहार र छठलाई लक्षित गर्दै बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले मधेस प्रदेशका आठ जिल्लामा टाइम कार्ड लागु गरेको छ । सवारी तथा सडक दुर्घटना न्युनिकरणका लागि कार्यालयले बुधवार रातीदेखि यात्रुबाहक बसमा टाइम कार्ड लागु गरेको हो ।

चाडपर्वको समयमा राजमार्ग अन्य समयभन्दा ब्यस्त रहने र सम्भावित दुर्घटना न्युनिकरणका लागि कार्यालयले सवारीसाधनमाथी समयसिमा निर्धारण गरेको हो । पथलैयामा उपलब्ध गराईने टाइम कार्ड अनुसार चालकले सप्तरीको भारदह पुग्नुपर्नेछ ।

तोकिएको समयभन्दा छिटो पुगेमा कारवाही हुने भन्दै ट्राफिक प्रहरीले चाडपर्वको समयमा हतारिएर सवारी नचलाउन समेत अनुरोध गरेका थिए । कार्यालयका ट्राफिक प्रहरी निरीक्षक सुशिल आचार्यले टाइम कार्डले सवारी साधनको गति नियन्त्रण गर्ने हुँदा सम्भावित दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने बताए ।

सवारी साधनलाई टाइम कार्ड लागु गर्दै प्रहरी निरीक्षक आचार्यले दुर्घटना न्युनिकरण गर्ने अभियानमा सहयोग गर्न चालकलाई अनुरोध गरेका थिए । चाडपर्वको समयमा मात्र नभई अन्य समयमा पनि यात्रुलाई सुरक्षित गन्तब्यमा पुर्‍याउन चालकको भूमिका महत्वपूर्ण हुने भन्दै प्रहरी निरीक्षक आचार्यले ट्राफिक प्रहरीको अभियानलाई सबैको साझा दायित्वका रुपमा लिन आग्रह गरे ।

प्रहरी निरीक्षक आचार्यले यात्रुबसमा सवार यात्रुसंग कुरा गर्दै सवारी चालकले तिव्र गतिमा सवारी चलाएमा सम्झाउन, मापसे गर्न खोजेमा रोक्न, बढी भाडा लिएमा प्रहरीलाई जानकारी गराउन अनुरोध गरेका थिए । यात्राका क्रममा चालक, सहचालकबाट दव्र्यवहार र गुनासो भएमा राजमार्गमा खटिने ट्राफिक प्रहरीलाई जानकारी गराउन समेत सुझाव दिएका थिए ।

कार्यालयले दिएको समयअनुसार पथलैयादेखि भारदहसम्मको दुई सय ५० किलोमिटरको यात्रा पाँच घण्टा १० मिनेटमा पार गर्नुपर्नेछ । उक्त समय भन्दा छिटो पुग्ने सवारी साधनमाथी कारवाही हुने कार्यालयले जनाएको छ ।

कार्यालयका ट्राफिक प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार पथलैयादेखि भारदहसम्मको विभिन्न स्थानमा रहेका ट्राफिक पोष्टमा टाइम कार्ड जाँच हुने र तोकिएको समय भन्दा अगाडी पुग्ने सवारीलाई कारवाही गरिने बताए ।

पथलैयाबाट भारदह पुग्ने र भारदहबाट पथलैया आउने सवारी साधन टाइम कार्ड अनुसार गन्तब्यमा पुग्नुपर्ने ट्राफिक प्रहरी नायब उपरीक्षक भण्डारीले ईशिलालखेलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्