द्रुतमार्गमा बाघको मृत्यु, शरीरमा देखियो पुरानो घाउ


eShilalekh

१५ आश्विन २०७९, शनिबार १०:१५

सिमराः काठमाण्डौ–तराई(मधेस) द्रुतमार्गमा शुक्रवार साँझ पाटे बाघको मृत्यु भएको छ । निकुञ्जको जंगलबाट घाईते अवस्थामा निस्किएको बाघको द्रुतमार्गमा पुगेपछि मृत्यु भएको हो ।

मुखबाट रगत निस्किरहेको अवस्थामा द्रुतमार्गमा बाघ ढलेको देखेपछि निजगढस्थित विकास निर्माण कार्यदलका सेनाले पर्सा राष्ट्रिय निकुञ्जको टोलीलाई खबर गरेका थिए । सहायक संरक्षण अधिकृत सुर्य खड्काको नेतृत्वमा निकुञ्जको टोली घटनास्थल पुग्दा बाघको सास चलिरहेको थियो । टोलि पुगेको केही बेरमा बाघको मृत्यु भएको हो ।

घटनास्थलमा पुगेका सहायक संरक्षण अधिकृत खड्काले बाघ केही दिनदेखीनै घाइते जस्तो देखिएको र शरिरमा पुरानो घाउ रहेको बताएका छन् । खड्काले बाघको मृत्युको कारण शल्यपरिक्षणपछि खुल्ने बताए । निकुञ्जको टोलीले मृत बाघलाई शल्यपरिक्षणका लागि लगेको छ ।

यसअघि उक्त बाघले निजगढस्थित विकास निर्माण कार्यदलको ब्यारेकमा आक्रमण गरेको थियो । घाइते अवस्थामा पुगेको बाघले सवारी साधनसहित विभिन्न सामानलाई टोक्ने र झम्टिनुका साथै सेनालाई समेत आक्रमण प्रयास गरेको बुझिएको छ । बाघले आक्रमण गर्ने प्रयास गरेपछि सेनाका जवान भागेर ज्यान जोगाएका थिए ।

रन्थनिएको अवस्थामा आएको बाघले केही समय आक्रामक शैलीमा सवारीसाधन र सामानमा क्षति पुर्‍याएपछि ब्यारेकबाट बाहिरिएको थियो । ब्यारेकबाट निस्किएको केही समयपछि द्रुतमार्गमा लडिरहेको अवस्थामा सेनाले देखेर निकुञ्जलाई खबर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्