एमाले जीतपुरसिमरा नगर कमिटीको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न


eShilalekh

१५ आश्विन २०७९, शनिबार २०:५२

सिमराः नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीको आयोजनामा शनिवार शुभकामना आदनप्रदान कार्यक्रम शनिवार सम्पन्न भएको छ । बडा दसैं, नेपाल सम्वत्, तिहार र छठ पर्वको अवसर पारेर नगर कमिटीले बकुलियामा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्यसहित केन्द्र, प्रदेश र जिल्लाका नेताहरुले सम्बोधन गरेका थिए । शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेलले मंसिर ४ गतेको निर्वाचनमा पनि एमाले ठुलो पार्टी बन्नेमा दुई मत नरहेको बताए ।

एमालेको सरकार हुँदा भएको विकास र वर्तमान गठबन्धनको सरकारको पालामा भईरहेको सत्ताको चलखेल जनतासामु छर्लङ्ग रहेको भन्दै नेता पौडेलले जनता अब आफै निर्णय लिने बताए । सत्तारुढ गठबन्धनको उदेश्य सत्ता टिकाउने र सत्तामा बस्ने भन्दा अरु केही नभएको भन्दै नेता पौडेलले देश निर्माण र जनतामुखी काम एमालेले मात्रै गर्ने बताएका छन् ।

कार्यक्रममा एमालेकी पोलिटव्युरो सदस्य ज्वालाकुमारी साहले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण नभएसम्म देशको बिकासले गति लिन नसक्ने दाबी गरिन् । यस्तै एमाले केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरीले निस्वार्थ भावनाले एमाले जिताउन अभियानमा लाग्न नेताकार्यकर्तालाई आग्रह गरिन् । टिकट नपाएकै कारण असहयोग गरेर आफ्नै उम्मेदवार हराउने प्रवृति अन्त्य हुनुपर्ने चौधरीको भनाई थियो ।

कार्यक्रममा निवर्तमान प्रदेश सांसद एवम् हालै एमाले फर्किएका नेता सुन्दर विकले राजनीतिमा भुल भएको र त्यही भुल सच्याउदै लामो समय योगदान गरेकै पार्टीमा फर्किएको बताए । माधवकुमार नेपालले नेतृत्व गरेको एकिकृत समाजवादी पार्टी कांग्रेसको भातृसंगठनको रुपमा मात्रै सक्रिय रहेको नेता विकको भनाई थियो ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य देवनारायण चौधरी, निवर्तमान प्रदेश सांसद सिता गुरुङ, एमाले सचिवालय सदस्य मनोज पौडेल, तारा कार्की, जिल्ला कमिटी सदस्य कासिम हुसेनलगायतले सम्बोधन गरेका थिए ।

नगर कमिटीका अध्यक्ष एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव रत्न उप्रेतीले गरेका थिए । कार्यक्रममा उपसचिव त्रिलोक विक्रम शाहले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा एमालेको प्रदेश, जिल्ला, नगर र वडा कमिटीका पदाधिकारी तथा सदस्य, जनवर्गिय संगठनका प्रतिनिधि, एमालेका कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्