पचरौतामा सर्वेन्द्र खनाललाई ५१ किलोको माला


eShilalekh

१५ आश्विन २०७९, शनिबार २२:०१

सिमराः नेकपा एमाले प्रवेश गरेसंगै चर्चामा रहेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बाराको पचरौतामा एमालेका नेता कार्यकर्ताले ५१ किलोको माला लगाएर स्वागत गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल पचरौता नगर कमिटीको प्रथम अधिवेशन तथा शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी हुन आएका खनाललाई ५१ किलोको मालाले स्वागत गरिएको हो । खनाललाई पचरौता नगरपालिकाका प्रमुख जलान्धर सिंह, वडाध्यक्ष लक्ष्मी यादवसहित नेताकार्यकर्ताले माला लगाएका थिए ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा सहभागी हुन काठमाण्डौबाट सडकमार्ग हुदै बारा आएका खनाल जामका कारण शनिवार साँझ पचरौता पुगेका थिए । ढिलै भएपनि कार्यक्रम स्थल पुगेका खनाललाई पचरौताका स्थानीय र एमाले नेताकार्यकर्ताले स्वागत गरेका हुन् ।

यसअघि युवा संघको प्रथम अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज बलबिर चौधरी, पचरौता नगरपालिकाका नगर प्रमुख सिंह, एमाले युवा नेता पुरुषोत्तम साह, उमेश कुशवाहालगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकालाई नेता चौधरीले स्वागत गरेका थिए ।

यसैगरी शुभकामना आदनप्रदान पछि सम्पन्न अधिवेशनले सुनिलकुमार यादवको अध्यक्षतामा ४७ सदस्यीय राष्ट्रिय युवा संघ पचरौता नगर कमिटी गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्