बाराको दुई निर्वाचन क्षेत्र खाली राख्दै गठबन्धनले टुंगायो सिट बाँडफाँड


eShilalekh

२१ आश्विन २०७९, शुक्रबार २३:०२

सिमराः जनता समाजवादी पार्टी बाहिरिएपछि बसेको सत्तारुढ गठबन्धनको बैठकले बाराको दुई निर्वाचन खाली राख्दै सिट बाँडफाँड टुंगाएको छ ।

जसपाबाहेक बसेको गठबन्धनको बैठकले शुक्रवार राती चुनावी तालमेलका लागि बाराको दुई निर्वाचन क्षेत्र खाली राख्दै अन्य स्थानमा सिट बाँडफाँड गरेको हो ।

गठबन्धनको बैठकले प्रतिनिधिसभातर्फ बारा क्षेत्र नं. १ मा नेपाली कांग्रेस, प्रदेशसभा १(क) मा नेपाली कांग्रेस र प्रदेशसभा १(ख) खाली राखेको छ ।

यसैगरी बारा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा नेकपा एकिकृत समाजवादीको भागमा परेको छ । यसैगरी प्रदेशसभातर्फ ४(क) नेकपा माओवादी केन्द्र र ४(ख) नेपाली कांग्रेसले पाउने भएको छ ।

गठबन्धनको बैठकले बारा क्षेत्र नं. २ र ३ खाली राखेको छ । जसपाले दावी गर्दै आएको बाराको दुई क्षेत्रमा गठबन्धनले खाली राखेको हो । तर गठबन्धनमा दाबी गरेअनुसार सिट नपाएपछि रुष्ट बनेको जसपा गठबन्धनसंग तालमेल छोडेर एमालेसंग नजिकिएको छ ।

प्रतिनिधिसभा खाली राखेपनि कांग्रेसले दावी गर्दै आएको बारा क्षेत्र नं. ३(क) नेकपा माओवादी केन्द्र प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्