बारा क्षेत्र नं. ४ मा कांग्रेसको उम्मेदवारी शुन्य, कांग्रेस नेताले दिए स्वतन्त्र उम्मेदवारी


eShilalekh

२३ आश्विन २०७९, आईतवार २१:०८

सिमराः मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बारा क्षेत्र नं. ४ मा सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको उम्मेदवार चुनावी मैदानमा देखिने छैनन् ।

गठबन्धनबीच भएको भागबण्डामा प्रतिनिधिसभा र प्रदेशसभाको टिकट अन्य दलले पाएपछि आसन्न निर्वाचनमा उम्मेदवारी दिनबाट कांग्रेस बञ्चित हुने भएको हो । भागबण्डासंगै अन्य दल उत्साहका साथ मनोनयन दर्ता गरेपनि कांग्रेस कार्यकर्ता भने निराश देखिएका छन् ।

गठबन्धनबीचको सहमतीअनुसार बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभामा नेकपा एकिकृत समाजवादी, प्रदेशसभातर्फ ४(क) मा नेकपा माओवादी केन्द्र र ४(ख) लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवारले उम्मेदवारी दिनेछन् । गठबन्धन र लोसपाबीच शनिवार राती प्रधानमन्त्री निवास बालुवाटारमा सहमती भएको हो ।

प्रतिनिधिसभा एकिकृत समाजवादीले लिने भएपछि कांग्रेसले प्रदेशसभामा दावी गर्दै आएको थियो । तर सीट बाँडफाँडमा अन्य दल हावी भएपछि कांग्रेस उम्मेदवारविहिन अवस्थामा पुगेको हो । क्षेत्रमै उम्मेदवारी दिनबाट बञ्चित भएपछि कांग्रेस नेताकार्यकर्ता रुष्ट देखिएका छन् । कांग्रेसको नेतृत्व तहले कार्यकर्ताको भावना विपरित निर्णय गरेको भन्दै कार्यकर्ताले नेतृत्वतहको चर्को आलोचना समेत गरिरहेका छन् ।

गठबन्धनकै कारण कांग्रेसले स्थानीय तह निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदमा समेत उम्मेदवारी दिन पाएको थिएन । भागबण्डाका क्रममा नगर प्रमुख पद नेकपा माओवादी केन्द्रले पाएपछि उपप्रमुखमा उम्मेदवारी दिएको कांग्रेस निर्वाचनमा पराजित हुन पुगेको थियो ।

वाग्ले र रायमाझीले दिए स्वतन्त्र उम्मेदवारी

नेपाली कांग्रेका दुई नेता ईच्छाबहादुर वाग्ले र नारायणी रायमाझीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसले बारा क्षेत्र नं. ४ मा कतैपनि उम्मेदवार नपाएपछि उनिहरुले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

वाग्लेले बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा र रायमाझीले ४(क) को प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दर्ता गराएका वाग्लेले कांग्रेसलाई जिवन्त राख्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्