बारा १ मा ४६ जनाको उम्मेदवारी, मैनाली र चौधरी फेरी ‘आमनेसामने’


eShilalekh

२४ आश्विन २०७९, सोमबार ११:२१

सिमराः बारा क्षेत्र नं. १ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ४६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभा सदस्यमा १८, प्रदेशसभा १(क) मा १३ र १(ख) मा १५ जनाको उम्मेदवारी परेको हो ।

उम्मेदवारी दिनेमा २० जना स्वतन्त्र छन् । प्रतिनिधिसभामा ६ र प्रदेशसभा दुवैतर्फ १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । केहीले राजनीतिक दलबाट टिकट नपाएपछि असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका छन् भने केही राजनीतिक दलको डमी उम्मेदवार हुन् ।

प्रतिनिधिसभाका लागि नेकपा एमालेका पोलिटव्युरो सदस्य अच्युत मैनाली, खानेपानी मन्त्री उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा मैनाली र चौधरीबीच प्रतिस्पर्धा हुने देखिन्छ । २०७४ सालको निर्वाचमा पनि दुवै प्रतिस्पर्धी थिए । उक्त निर्वाचनमा चौधरी निर्वाचित भएका थिए ।

यसैगरी प्रतिनिधिसभा राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्त बहादुर दर्लामी, हाम्रो नेपाली पार्टीका राकेश न्यौपाने, मंगोल नेसनल अर्गनाइजेशनबाट महेन्द्र चौधरी, कांग्रेस बीपीबाट धर्मेन्द्र प्रसाद, नेपाल लोक्तान्त्रिक पार्टीका मोजहर हुसेन मन्जुर, राप्रपा नेपालका शिवप्रसाद तिमिल्सिना, नेपाली जनता पार्टीका प्रदीपकुमार प्रसाद साह कलवार, नागरिक उन्मुक्ति पार्टीका भुवनप्रसाद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल र जनमत पार्टीका मनोजकुमार थारुले उम्मेदवारी दिएका छन् ।

यस क्षेत्रमा अनिलकुमार गुप्ता, कृष्णराज गिरी, धर्मेन्द्रकुमार साह, शिवप्रसाद रिजाल, अनवर अंसारी र चनकराज भट्टराईले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा १(क) मा नेकपा एमालेका त्रिलोकी चौधरी, नेपाली कांग्रेसका रमेशप्रसाद दंगाल, हाम्रो नेपाली पार्टीका मेसबहादुर ढकाल क्षेत्रि, नेपाल सुशासन पार्टीका दामोदर पनुहर, नागरिक उन्मुक्ति पार्टीकी राधाकुमारी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी साह कलवार, मंगोल नेशनल अर्गनाइजेशनका मदनबहादुर बम्जन र जनमत पार्टीका युवराज मैनालीले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा १(क) मा शिवनारायण थारु, जयमंगल चौधरी, देवराज घिमिरे, एकबहादुर क्षेष्ठ र सन्नी लामाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठ निजगढका एमाले नेता हुन् ।

यसैगरी प्रदेशसभा १(ख) मा मधेस प्रदेशका निवर्तमान सभामुख सरोजकुमार यादव, नेपाली कांग्रेसका नागेन्द्र साह कानु, एकिकृत समाजवादीका बतहु राय यादव, राप्रपा नेपालका जोखु साह कानु, नागरिक उन्मुक्ति पार्टीका उमेशप्रसाद कलवार र जनमत पार्टीका सिताराम प्रसाद नेपालीले उम्मेदवारी दिएका छन् ।

यस क्षेत्रमा राकेशकुमार कुशवाहा, अशोक कुमार यादव, अरुण कुशवाहा, कमरुल्लाह अंसारी, जयन्तकुमार कुशवाहा, राजकुमार प्रसाद साह, संजयप्रसाद यादव, विन्देश्वर यादव र प्रभुदास तत्माले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्