नम्बर फेरेर सरकारी गाडी दुरुपयोग गर्ने मन्त्री चौधरीलाई आयोगले माग्यो स्पष्टीकरण


eShilalekh

६ कार्तिक २०७९, आईतवार २०:४२

सिमराः सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएका खानेपानी मन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

आचारसंहितामा चुनावी प्रचारमा सरकारी स्रोतसाधन प्रयोग गर्न नपाईने भएपनि मन्त्री चौधरीले मन्त्रालयले उपलब्ध गराएको सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर निजि (रातो) नम्बर प्लेट राख्दै दुरुपयोग गरेपछि आयोगले स्पटीकरण सोधेको हो ।

बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीले बा२झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर बा१२च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गर्दै आएका छन् । आचारसंहिताले सरकारी गाडी प्रयोग गर्न रोक लगाएपछि मन्त्री चौधरीले निजि नम्बर नम्बर प्लेट राखेर चलाउने जुक्ती लगाएका हुन् ।

मन्त्री चौधरीले प्रयोग गरेको उक्त निजि नम्बर मेलम्ची आयोजनाले खरिद गरेको टोयोटा ल्याण्ड क्रुजर प्राडो जिपको हो । उक्त जीप भिए टेक वावाग प्रतिभा ई जे भीको नाममा बाग्मती प्रदेशमा दर्ता छ । खानेपानी मन्त्रालयकै प्रयोगमा रहेको उक्त जीपको नम्बर मन्त्री चौधरीले आफू चढ्ने सरकारी गाडीमा राखेका हुन् ।

सरकारी गाडीको नम्बर नै परिवर्तन गरेर प्रयोग गर्दै आएका मन्त्री चौधरी प्रहरी सुरक्षा घेरामा चुनाव प्रसारमा ब्यस्त रहदै आएका छन् । नेपाली कांग्रेसको झण्डा राखेर चुनावी प्रचारमा हिड्ने मन्त्री चौधरीलाई स्कर्टिङ दिने प्रहरी नम्बर प्लेट परिवर्तन भएको सम्बन्धमा भने अनविज्ञ छ ।

तर मन्त्री चौधरीले पद र सरकारी गाडीको दुरुपयोग गरेको खबर बाहिरिएपछि आयोगले उनीसंग स्पष्टीकरण माग गरेको हो । आयोगले मन्त्री चौधरीलाई काटेको स्पष्टीकरण पत्रमा ‘तपाईंले चुनाव प्रचार प्रसारका क्रममा सरकारी (रातो तथा निलो) नम्बर प्लेट भएको बा२झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरी बा१२च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गरेको हो होइन ? यदि निर्वाचन आचारसंहिताको उलंंघन हुने गरी तपाईंबाट उक्त कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० र उपदफा ९४० बमोजिम तपाईंलाई किन कारबाही गर्नु नपर्ने हो ?’ उल्लेख गरिएको छ ।

आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र जिल्ला निर्वाचन कार्यालयमा आफै वा प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न भनेको छ । आयोगको निर्वाचन आचारसंहि २०७९ को दफा ५ (क) बमोजिम नेपाल सरकारका मन्त्रीले चुनावी प्रचार प्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था उल्लेख छ ।

आयोगले मन्त्री चौधरीले प्रचारप्रसारका क्रममा सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरी प्रयोग प्रयोग गरेको सम्बन्धमा सूचना प्राप्त भएकाले जाँचबुझ गरी आयोगमा तीन दिनभित्र प्रतिवेदन पेश गर्न उक्त निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रहरी कार्यालय, बारालाई समेत पत्राचार गरेको छ ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले मन्त्री चौधरीले सरकारी गाडी दुरुपयोग गरेनगरेको सम्बन्धमा बुझेर तत्काल जानकारी गराउन पत्र आएको बताए । ‘पत्र हामीलाई प्राप्त भएको छ । यस सम्बन्धमा बुझेर हामी आयोगलाई जानकारी गराउनेछौं ।’ प्रहरी उपरीक्षक बोगटीले भने ।

बाराको उम्मेदवारलाई आयोगले स्पष्टीकरण मागेको यो दोस्रो घटना हो । यसअघि बारा क्षेत्र नं. ४ का उम्मेदवार पूर्वमन्त्री किसान श्रेष्ठलाई आयोगले २४ घण्टे स्पष्टीकरण मागेको थियो । म्यानपावर कम्पनीलाई प्रयोग गर्दै निर्वाचन आचारसंहिता विपरित मतदातालाई प्रभावित पार्ने गरी फ्रि भिसा फ्रि टिकटको प्रलोभन देखाएर आफ्नो चुनावी ब्यानरमुनी अन्तर्वार्ता राख्न लगाएपछि आयोगले श्रेष्ठसंग स्पष्टीकरण मागेको थियो । पूर्वमन्त्री श्रेष्ठले आयोगलाई स्पटीकरण बुझाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्