चुनावी सभा र घरदैलोमा ब्यस्त स्वतन्त्र उम्मेदवार वाग्ले


eShilalekh

१० कार्तिक २०७९, बिहीबार १७:४७

सिमराः बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका इच्छाबहादुर वाग्लेले विहिवार चुनावी सभा र घरदैलो सम्पन्न गरेका छन् । बिश्रामपुर गाँउपालिकाबाट सुरु भएको चुनावी अभियानलाई निरन्तरता दिने क्रममा वाग्लेले जीतपुरसिमरा उपमहानगरपालिका २० स्थित बसडिल्वामा सभा र घरदैलो सम्पन्न गरेका हुन् ।

सभामा बोल्दै वाग्लेले क्षेत्र नं. ४ को समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताए । ठुला गफ र झुटो प्रचार भन्दा पनि काम गरेर देखाउन आफ्नो उम्मेदवारी रहेकाले आफूलाई जिताउन उनले मतदातालाई अपिल गरेका थिए ।

लामो समयदेखी नेपाली कांग्रेसको राजनिति गर्दै आएका वाग्लेले बारा क्षेत्र नं. ४ को कुनै पनि क्षेत्रमा कांग्रेसले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । कांग्रेसलाई वेवास्था गरिएको भन्दै असन्तुष्ट वाग्लेसहित महिला नेतृ नारायणी रायमाझीले पनि प्रदेशसभामा उम्मेदवारी दिएकी थिईन् ।

तर रायमाझीको उम्मेदवारी भने धेरै दिन टिक्न सकेन । पार्टीमा उचित पद दिने आश्वासन पाएपछि उनि पछि हटेकी हुन् । रायमाझी पछि हटेपनि आफ्नो अडान नछाडेका वाग्ले अहिले चापाकल चुनाव चिन्ह लिएर चुनावी अभियानमा ब्यस्त छन् । उनको चुनावी अभियानलाई कांग्रेस समर्थकले सहयोग गर्न थालेका छन् ।

जनाधारनै नभएको नेकपा एकिकृत समाजवादीले प्रतिनिधिसभा सदस्यको टिकट पाएपछि कांग्रेस नेताकार्यकर्ता रुष्ट रहदै आएका थिए । प्रतिनिधिसभामा दावी गर्दै आएको कांग्रेसलाई पन्छाएर एकिकृत समाजवादीका नेता एवम् पूर्वमन्त्री किसान श्रेष्ठले टिकट ल्याएपछि कांग्रेस नेताकार्यकर्ता रुष्ट भएका हुन् ।

प्रदेशसभा ४(१) मा नेकपा माओवादी केन्द्र र ४(२) मा लोसपालाईलाई टिकट दिलाएर आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका श्रेष्ठले कांग्रेसको मत र भावनालाई सम्मान गर्न नसकेको कांग्रेस कार्यकर्ता र समर्थकको गुनासो छ । ४(२) लोसपाको प्रभाव बढी रहेको क्षेत्र भएपनि प्रतिनिधिसभा वा प्रदेशसभा ४(१) मा आफूले टिकट पाउनुपर्ने आधारसहित कांग्रेसले दावी गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्