आचारसंहिता विपरित छठ घाटमा चुनावी ब्यानर


eShilalekh

१३ कार्तिक २०७९, आईतवार ११:५६

सिमराः निर्वाचन आचारसंहिता विपरित बाराको कलैयास्थित छठ घाटमा उम्मेदवारले आफ्नो चुनावी ब्यानर लगाएका छन् । कलैया उपमहानगरपालिका १ स्थित रामजानकी मन्दिर छठघाटमा उम्मेदवारले चुनावी ब्यानर लगाएका हुन् ।

निर्वाचन आचारसंहिता उलंघन गर्दै उम्मेदवारले छठघाटमा चुनावी ब्यानर लगाएपछि विरोध हुन थालेको छ । मतदातालाई प्रभावित पार्ने गरी उम्मेदवार वा दलको कार्यालय बाहेक अन्य स्थानमा फ्लेक्स, डिजिटल बोर्ड लगाउन आचारसंहिताले बन्देज लगाएको छ ।

तर आचारसंहिता विपरित बारा क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु सिंह, प्रदेशसभा ३(१) का उम्मेदवार मुकेश साह, हाम्रो नेपाली पार्टीका प्रदेशसभा ३(१) का उम्मेदवार शिवनाथ पटेल, नेपाल लोकतान्त्रिक पार्टीबाट प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार बृजकिशोर साहले आफ्नो फोटो, नाम र चुनाव चिन्हसहित छठ घाटमा ब्यानर लगाएका हुन् ।

राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७९ को १३(ड) ले उक्त कार्य गर्न नपाउने भनेको छ । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले आचारसंहिता विपरितको कार्य गर्न कसैलाई छुट नभएको भन्दै उम्मेदवारले लगाएको ब्यानरलाई तत्काल हटाइने बताए ।

प्रतिक्रिया दिनुहोस्