जीतपुरसिमरामा छठ पर्वको उल्लास (तस्विरहरु)


eShilalekh

१३ कार्तिक २०७९, आईतवार २२:१५

सिमराः छठ पर्वको मुख्य दिन आईतवार अस्ताउदो सुर्यलाई अर्घ दिइएको छ । ब्रतालुले पर्वका लागि सजाईएका छठघाटमा पुगेर सुर्यको उपासनासहित अस्ताउदो सुर्यलाई अर्घ दिएका हुन् ।

चार दिन सम्म मनाईने छठ पूजाको तेस्रो दिन विशेष दिन हो । नयाँनयाँ वस्त्र लगाएर व्रतालुले बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा नरिवल, भिजाएको केराउ, पात सहितको मूला लगायतका फलफुल र प्रसाद राखेर अर्घ दिने गरेका छन् ।

सुर्यलाई अर्घ दिएपछि ब्रतालु घर फर्केर आगनमा कोसी भर्ने विधि गर्छन् । उक्त विधिपछि केही ब्रतालु रातभर जागराम बसेर उदाउदो सुर्यलाई अर्घ दिएपछि ब्रत तोड्ने गरेका छन् । अस्ताउदो सुर्यलाई अर्घ दिएको भोलिपल्ट उदाउदो सुर्यलाई अर्घ दिएपछि छठ पूजा विधिवतरुपमा सम्पन्न हुन्छ ।

छठ पूजा गर्ने ब्रतालुले कठोर व्रत गर्ने गरेका छन् । छठको पहिलो दिन नहाइ खाइपछि दोस्रो दिन खरना विधि अन्तर्गत रस्याउ रोटी खाएका ब्रतालुले अस्ताउदो र उदाउदो सुर्यलाई अर्घ दिनुअघि निराहार व्रत गर्ने गरेका छन् ।

छठ पर्वलाई बरामा उत्साहका साथ मनाइएको छ । मधेसी समुदाय मात्र नभई पछिल्लो समय पहाडी समुदायले समेत निराहार व्रत बसेर छठ पूजा गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्