एमाले उम्मेदवार चौधरीले गरे प्रतिवद्धतापत्र सार्वजनिक


eShilalekh

१८ कार्तिक २०७९, शुक्रबार १०:१७

सिमराः नेकपा एमाले बारा क्षेत्र नं. ४(१) को प्रदेशसभा सदस्य उम्मेदवार देवनारायण चौधरीले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

सिमरामा आयोजित कार्यक्रमकाबीच उम्मेदवार चौधरीले स्वास्थ्य, शिक्षा, खेलकुद, कृषी, खानेपानी, रोजगारी, सडक संजाल, अव्यवस्थित बसोबास, खेलकुद, धर्मसंस्कृतिको संरक्षणलगायतको क्षेत्रलाई समेटदै प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार चौधरीले आफू निर्वाचित भएपछि प्रतिवद्धता पुरा गर्न पछि नहट्ने बताए ।

चौधरीले जीतपुरमा दुई सय शैयाको अस्पताल, पथलैयामा ट्रमा सेन्टर सेन्टर, सिमरा, ईनर्वासिरा र रमौलीमा आवश्यकताअनुसारको अस्पताल संचालनको कामलाई आफू निर्वाचित भएपछि अघि बढाउने बताएका छन् । अघिल्लो प्रदेशसभा सरकारले डिपिआर गरिसकेको ट्रमा सेन्टर कार्यलाई निरन्तरता दिदै निर्माणको प्रक्रिया अघि बढाउन आफू प्रतिबद्ध भएर लाग्ने बताए ।

शिक्षाक्षेत्रतर्फ विद्यालयको भौतिक पूर्वाधारको विकास, प्राविधिक शिक्षा, ई लाईब्रेरी, आईटिसी ल्याब स्थापनालाई प्राथमिकता दिने बताउदै चौधरीले सिमरा रंगशाला र हरपुर क्रिकेट रंगशाला निर्माणको कामलाई अघि बढाउने बताए ।

चौधरीले आफ्नो निर्वाचन क्षेत्रभित्रको अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नका लागि नीतिगत पहल, अमलेखगंज, पथलैया, चकरी, रमौली, ब्रम्हपुरीलगायतको स्थानमा खानेपानीका लागि विशेष योजना ल्याउने बताएका छन् ।

कृषी क्षेत्रतर्फ कृषीमा आधुनिकिकरण, कृषी बजार व्यवस्थापन, कृषी पेशा अभियानमार्फत कृषी तथा पशुपालन व्यवसायिकरणलगायतको काम गर्ने चौधरीको प्रतिवद्धतापत्रमा उल्लेख छ । सडक सञ्जालतर्फ वडा स्तरीय र अन्तर नगर स्तरीय सडक संजाल, बेहरादेखी गमरगावा, रमौली, लोसण्डा, बकुलिया हुदै फरदवासम्मको सडक निर्माण, जीतपुरसिमरा २२ मा पर्ने दुधौरा, भंगेरी र मुल खोलामा पक्की पुल निर्माण, नगौलदेखी घुसुकपुर जोड्ने सडकको स्तरोन्नती, हरपुर–बन्झरिया सडक स्तरोन्नती, दुधौरा खोलाको कटान नियन्त्रणका लागि तटबन्धलगायत अन्य सडक निर्माणको काम गर्ने चौधरीले बताएका छन् ।

चौधरीले आफ्नो क्षेत्रभित्र रहेको धार्मिक स्थलको संरक्षण तथा पूर्वाधार निर्माण, जेष्ठ नागरिक, अपांगता, एकल महिला, सिमान्तकृत समुदायको हितका लागि आवश्यक योजना अघि ल्याउने बताएका छन् । चौधरीले आफू निर्वाचित भएपछि आफ्नो क्षेत्रका नागरिकको आवश्यकता र चाहनालाई मध्यनजर गरी अन्य विकास तथा सामाजिक योजना ल्याउने बताए ।

प्रतिवद्धता सार्वजनिक कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल, एमाले केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, एमाले प्रदेश सचिवालय सदस्य सुन्दर विक, प्रदेशसभाका समानुपातिक उम्मेदवार कमलेश झा, मधेस प्रदेश कमिटी सदस्य दिनेश्वर ठाकुर, एमाले नेता अमृतलाल श्रेष्ठ, कमला घिमिरे, तारा कार्की, रत्न उप्रेती, रविन्द्र खकुरेललगायतको उपस्थिती रहेको थियो । प्रतिवद्धता कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले उम्मेदवार चौधरीले अघि सारेका योजनाले यस क्षेत्रको विकासले फड्को मार्ने बताए । उनले आफ्नो प्रतिवद्धता पूरा गर्न जिम्मेवार भएर लाग्न समेत उम्मेदवार चौधरीलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्