बारा ४ मा बलियो बन्दै स्वतन्त्र उम्मेदवार वाग्ले


eShilalekh

१८ कार्तिक २०७९, शुक्रबार १२:५८

सिमराः बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका इच्छाबहादुर वाग्लेको पक्षमा बलियो जनमत देखिन थालेको छ । स्वतन्त्र उम्मेदवारी दर्तासंगै चुनावी अभियान अघि बढाएका वाग्लेको पक्षमा जनमत बढ्न थालेको हो ।

गठबन्धनको कारण यस निर्वाचन क्षेत्र एकिकृत समाजवादीको भागमा परेपछि असन्तुष्ट हुँदै नेपाली कांग्रेसका नेता वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । कांग्रेसले जित्न सक्ने निर्वाचन क्षेत्रमा कांग्रेस कार्यकर्ताको भावना विपरित जनाधार नै नभएको पार्टीलाई टिकट दिएको र कांग्रेसलाई उम्मेदवारविहिन बनाएको भन्दै वाग्लेले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

गठबन्धनको भागबण्डाका कारण कांग्रेस बारा क्षेत्र नं. ४ मा उम्मेदवारविहिन अवस्थामा छ । गठबन्धन भएपनि बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसले जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख पदमा पराजय भोगेको थियो । गठबन्धनका उम्मेदवार राजन पौडेलले नगर प्रमुख पदमा जित्दै गर्दा उपप्रमुख पदमा कांग्रेस उम्मेदवार मेघा शाही पराजित भएपछि कांग्रेस नेताकायर्कर्ता असन्तुष्ट छन् ।

बलियो जनमत रहेपनि कांग्रेसले पछिल्लो दुई स्थानीय निर्वाचनमा उत्साहजनक नतिजा ल्याउन सकेको छैन् । २०७४ सालको स्थानीय निर्वाचनमा जीतपुरसिमरामा पाँच वटा वडा जितेको कांग्रेसले २०७९ को निर्वाचनमा पनि उस्तै नतिजा दोहोर्‍याएको छ ।

२०७४ सालको निर्वाचनमा एक्लै लडेको कांग्रेस यसपटक भने गठबन्धन गरेर निर्वाचनमा होमिएको थियो । तर निर्वाचनको नतिजा भने कांग्रेसको पक्षमा आउन सकेन । गठबन्धनका एउटा उम्मेदवार जित्दै गर्दा अर्को उम्मेदवार पराजित हुनु कांग्रेसको लागि सुखद् नरहेको कांग्रेसकै कार्यकर्ताले बताउछन् ।

स्थानीय निर्वाचनमा प्राप्त नजिताकै आधारमा कांग्रेसलाई कमजोर आकलन गर्दै यसपटक बारा क्षेत्र नं. ४ मा उम्मेदवारविहिन अवस्थामा कांग्रेस पुगेको हो । प्रतिनिधिसभामा कमजोर जनमत रहेको एकिकृत समाजवादीले टिकट पाँउदै गर्दा कांग्रेसले प्रदेशसभामा समेत टिकट प्राप्त गर्न सकेन ।

स्थानीय निर्वाचनको नजितालाई आधार बनाएर प्रदेशसभा ४(१) मा यसपटक नेकपा माओवादी केन्द्रले टिकट प्राप्त गर्यो । तर ४(१) मा माओवादी भन्दा बलियो जनमत रहेको कांग्रेस उम्मेदवारविहिन हुन पुग्यो । जसका कारण कांग्रेस कार्यकर्ता दुखित् देखिएका छन् । अन्य राजनीतिक दलका कार्यकर्तालाई चुनावी माहोलले उत्साह प्रदान गरिरहदा कांग्रेस कार्यकर्ता भने यतिबेला निराश छन् ।

कांग्रेसकै सहयोग लिएर कांग्रेसकै अस्वित्व समाप्त पार्ने र अन्य पार्टी हावी हुने गतिविधि बढेको चर्चा सुरु भएको छ । कांग्रेसलाई प्रयोग गरेर अन्य पार्टी बलियो हुने र कांग्रेसको जनमत कमजोर बनाउने षडयन्त्र भएको भन्दै कांग्रेसका कार्यकर्ता रुष्ट देखिएका छन् ।

उक्त असन्तुष्टीकै कारण कांग्रेस कार्यकर्ताको चाहनाअनुसार वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनको स्वतन्त्र अभियानलाई पछिल्लो समय कांग्रेस कार्यकर्ताले खुलेरै सहयोग गर्न थालेका छन् । लामो समय नेपाली कांग्रेसको जीतपुरसिमरा नगर कमिटीको सचिव भएर काम गरेका सुशिल ढोडारी यतिबेला वाग्लेको स्वतन्त्र अभियानसंग जोडिएका छन् । कांग्रेसको अस्वित्व समाप्त पार्ने गरी भएको निर्णयविरुद्ध स्वतन्त्र अभियानलाई अघि बढाएको ढोडारीले बताए ।

‘कांग्रेसको यति ठुलो जनमत हुँदाहुँदै पनि पार्टीलाई समाप्त पार्ने काम भयो । त्यो संगै पार्टीभित्र नाताबाद हावी भयो । कार्यकर्ताको भावना भन्दापनि नेताहरुले आफ्ना परिवारलाई मात्रै प्राथमिकता दिए’ ढोडारीले भने ‘त्यसविरुद्ध हामी यो स्वतन्त्र अभियानमार्फत अघि बढेका छौ । सबैको साथ पाएपछि उत्साहित छौं ।’

ढोडारीले स्वन्तन्त्र उम्मेदवार वाग्लेको पक्षमा कांग्रेसका कार्यकर्तासहितको जनमत बढ्दो अवस्थामा रहेको बताए । उनले स्वतन्त्र अभियानलाई सहयोग गर्न अपिल समेत समेत गरेका छन् । ‘यो स्वतन्त्र अभियानलाई सहयोग गरिदिन म सबैलाई अपिल गर्न चाहन्छु’ ढोडारीले भने ‘हामी सबैको साथ र सहयोगले एउटा सन्देश दिनेछ भन्नेमा म विश्वस्त छु ।’ वाग्लेको बिजयपछि सिमराको मात्र नभई क्षेत्र र देशकै विकासमा सहयोग पुग्ने ढोडारीको भनाई छ ।

स्वतन्त्र उम्मेदवार वाग्ले सिमरास्थित होटल इच्छाका संचालक हुन् । करोडौंको लगानीमा उनले होटल स्थापना गरेपछि सिमरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सुरु भएको थियो । सिमरालाई चिनाउन र यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि नेतृत्वदायी भूमिका खेलेका वाग्लेले पछिल्लो समय अमलेखगंजमा करोडौंको लगानीमा अर्को होटल निर्माण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्